धरान : धरानमा चुनावी गठबन्धन गर्न सत्तारुढ दलहरूबिच रस्साकस्सी चलिरहेको छ ।

यसरी रस्साकस्सी चलेको निकै दिन बित्दा पनि अझै सत्तारुढ दलहरू बिच गठबन्धन हुने नहुने टुङ्गोमा दलहरू पुग्न सकेका छैनन् । सोमबार साँझ सम्ममा धरानमा सत्तारुढ दलहरू बिच गठबन्धन भएर निर्वाचनमा होमिने बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भनिए पनि अझै सम्म गठबन्धनको बारेमा केही निर्णय हुन नसकेको जनता समाजवादी पार्टीका धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बुले बताए ।

गठबन्धनको नेतृत्व नेपाली काँग्रेसले गरिरहेकोले अहिले सम्म फेरि गठबन्धनको बैठक बस्ने नबस्ने बारेमा केही जानकारी आफूले नपाएको लिम्बुले बताए । 

गठबन्धनका सदस्य नेकपा माओवादी केन्द्रका धरान उपमहानगर अध्यक्ष सूर्य भट्टराई (मनोज) ले भने धरानका गठबन्धन दलहरू सहमति नजिक पुगेकोले पत्रकार सम्मेलन गरेर गठबन्धन भएको औपचारिक निर्णय सार्वजनिक गर्ने बताउँछन् । गठबन्धन गर्ने नगर्ने होइन गर्ने निष्कर्षमा हामी पुग्यौ । त्यसैले आधिकारिक निर्णय सर्वाजानिक गर्ने भट्टराईको भनाई छ । 

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले गठबन्धन हुने भन्ने कुरामा सहमति नजिक पुगेको बताए । केही साना तिना कुराहरूमा छलफल हुन बाँकी छ, साँझ सम्ममा हामीले सहमति गरेर पुनः गठबन्धनको बैठक बसेर निर्णय सार्वजनिक गर्नेछौ सभापति पोखरेलले भने ।

धरानको कुनै उपयुक्त स्थानमा गठबन्धनको बैठक बस्ने तयारी भइरहेकोले धरानमा सत्तारुढ दलहरूको गठबन्धन हुने निश्चित भएकोले अरू पनि गठबन्धनमा आउन चाहने दलहरूलाई समेटेर अघि बढ्ने सभापति पोखरेलले बताए । 

मेयर उपमेयरमा कुरा मिल्यो वडामा समस्या 

धरान उपमहानगरपालिकाको मेयर काँग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने दलहरूबिच सहमति भएको छ ।

तर यसको औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । वडाको भागबन्डामा समस्या भएको छ । वडामा काँग्रेसले १५ वडा, माओवादी केन्द्रले ५ वटा वडा, जनता समाजवादी पार्टीले २ र नेकपा एकीकृत समाजवादीले १ वडा र लिम्बुवानले समेत १ वडामा दाबी गरेको छ ।

यही वडाहरूको भागबन्डामा समस्या आएकोले मिलाउने प्रयास भइरहेको छ । वडाको विषयमा अझै सहमति हुन नसकेपछि गठबन्धनको निर्णय सर्वाजानिक हुन नसकेको बताइएको छ । साँझ सम्ममा वडामा पनि सहमति भए पछि निर्णय सार्वजनिक गर्ने गरी सत्तारुढ दलहरू छलफलमा लागिरहेको बताइएको छ ।