धरान : धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हराउन लागिपर्ने नेताहरूलाई कारबाहीको प्रक्रिया अगाडी बढाइने भएको छ । धरान-१२ नम्बर वडा समितिको ज्येष्ठ २३ गतेको बैठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो। 
गत बैंसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान-१२ मा वडाध्यक्षका उम्मेदवार विष्णु तामाङ पराजित भए । उनको पराजयमा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापति प्रदीप शाक्यले भूमिका खेलेको बैठकको निष्कर्ष छ। शाक्य सहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत काँग्रेस उम्मेदवार हराउन लागि परेको बताइएको छ। 
वडाध्यक्षका प्रत्याशी उम्मेदवार विष्णु तामाङ र वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारबाही र बहिस्कारबारे जानकारी गराएका छन् । पार्टीका उम्मेदवारलाई हराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तिन जना नेताहरूलाई पार्टीबाट आजीवन बहिस्कार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यससँगै अनुशासनको कारबाही स्वरूप साधारण सदस्य समेत नरहने गरी निलम्बनको माग सहित केन्द्रीय समितिमा सिफारिस गरिएको छ। 
१२ नम्बर नेपाली काँग्रेसका नेता तथा मेयरका प्रत्याशी उम्मेदवार किशोर राईको वडा हो । पार्टीबाटै अन्तर्घात भएर चुनावमा पराजित हुनुपरेको उनले बताएका छन् । अहिले कारबाहीको सिफारिसमा पर्ने नेताहरू यसअघि पनि पार्टीका नेतालाई पराजित गर्न लागिपरेको उनको भनाई छ । खुलेरै अन्तर्घात गरेपछि कारबाही गर्न बाध्य भएको उनले प्रष्ट पारे।
धरानमा यसअघि नै-६ नम्बरमा काँग्रेस उम्मेदवार पराजित भएको भन्दै २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो । पार्टीका बागी उम्मेदवारलाई सघाएको भन्दै कारबाहीको माग भएको हो।
congress-12-karbahai