धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहितको टोलीले आज धरान-१४ विजयपुरको पञ्चकन्या क्षेत्रमा बृहत् बृक्षरोपण गरेको छ । 

धरान-१४ विजयपुरको पञ्चकन्या जंगल क्षेत्रमा रहेको पञ्चकन्या मन्दिर आसपासको क्षेत्र र खानेपानी टङ्की निर्माणका लागि खनिएको खाली जग्गा क्षेत्रमा बृक्षरोपण गरिएको छ । 

बृक्षरोपणका लागि धरान-८ निवासी दिपेश राईले १ सय विभिन्न फलफूलका बिरुवा निःशुल्क प्रदान गरेर सहयोग गरेका थिए । बृक्षरोपणमा सहभागीहरूले पनि स्वतःस्फूर्त आफै विरुवा बोकेर बृक्षरोपणमा सहभागी भएका थिए । करिब २ सय जना सहभागी रहेको बृक्षरोपणमा आँप, लिची, कटहर, पानी अमला लगायतका विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिएको बताइएको छ । 

मेयर हर्क साम्पाङको अभियान हरेक हप्ता बृक्षरोपण भन्ने नारा अनुसार आज साप्ताहिकरुपमा सो क्षेत्रमा बृक्षरोपण भएको हो । हरेक साता बृक्षरोपण, लागुऔषधको विरुद्धमा खबरदारी, सफा धरान अभियान र खानेपानी समस्या समाधान लगायतको अभियान लिएर धरानका मेयर हर्क साम्पाङ सक्रिय रहेका छन् । यही क्रममा आज पनि धरान-११ र १७ का बासिन्दाका लागि खानेपानी व्यवस्थापनका लागि पकुवा खोलामा श्रमदान हुने बताइएको छ ।