धरान : सुनसरी र खोटाङको छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ जनाको मृत्यु भएको छ । 

शुक्रवार दिउँसो सुनसरीको कोसी गाउँपालिका–२ का राम कुमार उरावको १४ वर्षीय छोरा आयुष उराव कोसी गाउँपालिका–३ स्थित सिँचाइ नहरमा पौडी खेल्ने क्रममा पानीमा डुबी बेहोस अवस्थामा स्थानिय मानिसहरूले फेला पारी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

यसै गरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ की ६८ बर्षीया दिल लक्ष्मी राई शुक्रवार बेलुका ५ बजे आफ्नै खेतबारीमा पानी लगाउन भनी गएकोमा अबेर सम्म फर्की नआए पश्चात् आफन्तले खोजतलास गर्ने क्रममा कुलोको पानीमा लडी घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ भने  दुवै  घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।