चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलङ्का टप्पु स्थित गरैयामा रहेको खुल्ला गौचरण (सरकारी जमिन) को संरक्षणमा  नगरपालिका लागिपरेको छ । खुल्ला रूपमा रहेको करिब २ सय बिघा सरकारी जमिनमा अतिक्रमण हुन थाले पछि जमिन संरक्षणमा नगरपालिका लागिपरेको नगर प्रमुख रमेश कार्कीले बताए । जमिनलाई स्थानीय जनता आधारभूत विद्यालयले प्रयोग र संरक्षण गर्ने गरी सहमति भएको छ ।

नगर प्रमुख कार्की, उपप्रमुख नन्दकुमारी राई, वडा नं ६ का वडाध्यक्ष उद्धवप्रसाद पोख्रेल सहितको टोलीले जमिन निरीक्षण समेत गरेका छन् । खुल्ला पटेरघारी सरकारी जमिनलाई केही स्थानीयसँगै उदयपुर, सप्तरी, सिराहा लगायतका मानिस आएर अतिक्रमण गरी भोगचलन गर्न थाले पछि नगरपालिकाले घेराबेरा गर्ने कार्य थालेको नगर प्रमुख कार्कीले बताए ।

खुल्ला जमिनलाई नगरपालिकाको मातहतमा ल्याएर स्थानीय विद्यालय, मन्दिर, स्वास्थ्य संस्थाको नाममा संरक्षण गर्ने र नगरपालिकाको आम्दानीको स्रोतको रूपमा विकास गराउन नगरपालिकाको योजना रहेको छ ।

पटेरघारीको रूपमा रहेको जमिनमा बिचौलिया हाबी हुन थालेको स्थानीयहरू बताउँछन् । स्थानीय जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पवन चन्द्रवंशीका अनुसार खुल्ला जमिनमा अतिक्रमण बढे पछि नगरपालिका, वडा कार्यालय र स्थानीयको आम भेलाले खुल्ला जमिनलाई विद्यालयको स्वामित्वमा ल्याउने सहमति भएको छ ।

गरैया टोल क्षेत्रमा रहेको उक्त जमिनमा नगरपालिकाले गौरवको योजना बनाएर स्थानीयलाई रोजगारी र लगानीको क्षेत्रको रूपमा विकास गर्ने नगरपालिकाले योजना लिएको नगर प्रमुख कार्कीले बताए । माफिया र बिचौलियाको आँखाको तारो बनेको जमिनलाई स्थानीयको माग र आवश्यकता अनुसार जमिनको संरक्षण सुरु गरिएको बडा अध्यक्ष उद्धव प्रसाद पोख्रेलले बताए ।