धरान : मेयरको कार्यकक्ष तोडफोडको आरोपमा बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धरान प्रहरीले पक्राउ गरेको छ । 

साउन १५ गते बराह पीडित सङ्घर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा मेयरको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेका थिए । मेयरको कार्यकक्ष तोडफोड भएको विरुद्धमा मेयर हर्क साम्पाङले बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोला विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरी अनुसार साउन १८ गते सोही कसुरमा धरान-१६ बाट प्रदीप बास्तोलालाई धरान प्रहरीले पक्राउ गरेको थियो । नेपाली भने फरार भएका थिए । तर आज बिहान पौने ११ बजे धरानको भानुचौकबाट नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । 

नेपालीको पक्राउ पछि यो समाचार तयार पारुन्जेल सम्ममा स्वास्थ्य परीक्षण भइरहेको र अस्ति नै ७ दिनको म्याद थप गरिएकोले जाहेरी उपर थप अनुसन्धान सुरु हुने डिएसपी श्रेष्ठले बताए ।