धरान : परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औँ संस्करण सम्पन्न गरेको छ । 

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिएको उक्त निःशुल्क क्लिनिकमा विशेष गरी मुटु, मधुमेह र रक्तचाप सम्बन्धी परीक्षण गरिएको थियो । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि आयोजना गरेको उक्त शिविरमा ६५ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । शनिवार बुवाको मुख हेर्ने पवित्र दिनमा, ६५ जना बुवाआमाहरुको स्वास्थ्य परीक्षण गरी वहाहरुको मुहारमा खुसी ल्याउन सक्यौ, हामी पनि भाग्यमानी रहेछौँ” बरालले भने । 

परिवर्तनका लागि सामाजिक अभियानले विगत ११ महिनादेखि यो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । धरानका विभिन्न वडाहरूमा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने गरेको अभियानले यस पटक धरान–८ स्थित बुद्ध बिहारमा कार्यक्रम आयोजना गरेको हो । 

स्वास्थ्य रहन वट वृक्ष जस्तो हैन, हिँडडुल गरिरहनु पर्ने डा. शाहले बताए । “हामीहरू खानपानमा पनि ध्यान पुर्याउन  सक्दैनौँ, र हिँडडुल पनि गर्दैनौँ, यदि स्वास्थ्य रहने हो भने वट वृक्ष हैन, हिँडडुल गरिरहने मानिस हुनु पर्दछ” डा शाहले भने । अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त क्लिनिकमा सल्लाहकार मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल र निशान नेपाल लगायतका अभियन्ताहरूको सहभागिता रहेको थियो । 

धरान उपमहानगरपालिका, वडा नं. १२ को स्वास्थ्य चौकीमा कार्यरत नर्स चेतना परियारले रक्तचाप तथा अन्य परीक्षण गरेकी थिइन । बुद्ध बिहारमा यस्तो पुण्य कार्य गर्न पाएकोमा आयोजकका तर्फबाट सचिव किरण कार्कीले परिवर्तनका लागि सामाजिक अभियान र अभियन्तहरुप्रति आभार प्रकट गरेका थिए ।