चतरा : वराहक्षेत्र नगरपालिकाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको कालाबञ्जर बजारमा नगरपालिकाले अनुगमन गरेको छ। दसैँ तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँ जसो उकालो लागेको गुनासो उपभोक्ताबाट आएसँगै वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले कालाबञ्जर बजारका पसलहरूको अनुगमन गरेको थियो।
सो क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए । 
दसैँ तिहारलगायतका अन्य चाडपर्वका समयमा बजारमा म्याद नाघेका सामाग्री, कालोबजारी र खाद्य सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिएको बजार अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख सुनुवारले बताइन् ।
टोलीले अनुगमनका क्रममा बिल विजक चुस्त दुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिक रूपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्यवस्तु फेला पारेको थियो । साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सबै प्रक्रिया पुर्‍याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरूलाई सुझाव दिइएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताएका छन् ।
अनुगमनमा उपभोग्य मिति समाप्त भएको सामाग्री फेला समेत पारेको थियो । टोलीले खुद्रा व्यवसायीहरूलाई होलसेल व्यवसायीले जारी गरेको बिल विजक सुरक्षित राख्न र माग गरेका बेला उपलब्ध गराउन भनेको छ । वराहक्षेत्र नगरपालिकाले चार्डपर्व नजिकिए सँगै बजारमा मूल्य बुद्धि, म्याद नाघेका सामाग्री र कालोबजारीलाई नियन्त्रण गर्न नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो । कालाबञ्जर बजार क्षेत्रमा रहेका खाद्यान्न पसल, मासु पसल, गैर खाद्यान्न सामाग्री, किराना पसल, औषधी पसल लगायत अनुगमन गरिएको थियो । 
नगर उपप्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, नगरपालिकाको आर्थिक विकास शाखाका कर्मचारी, स्वास्थ्य शाखा कर्मचारी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेपाल प्रहरीका, खाद्य तथा गुण नियन्त्रण सुनसरीका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि, पत्रकार लगाएको सहभागी रहेका थिए।
baraha-kshetra-anugaman-2
kalabanjar-anugaman