सुनसरी : हातमा आफ्नो जग्गाको धनी पुर्जा लिएर २५ वर्षीय अनमोल खतिवडा भौँतारिरहेका भेटिन्छन् । कहिले प्रहरी प्रशासन त कहिले इटहरी उपमहानगर तर कतैबाट पनि आफ्नो जग्गा फिर्ता ल्याउने आश्वासन बाहेक केही पाएका छैनन् । 
इटहरीका निवर्तमान नगर प्रमुख द्वारिकलाल चौधरीले आफ्नो जग्गामा डोजरले खनेर जग्गामा माछा पोखरी बनाएको टुलुटुलु हेर्न बाहेक केही गर्न नसकेका खतिवडा स्थानीय सरकारले गरेको व्यवहारले आजित छन् । स्थानीय सरकार भनेको घर नजिकको सरकार हो, जनताले सामान्य देखि जटिल समस्या पर्दा न्याय माग्न स्थानीय सरकारको ढोका ढकढक्याउन पुग्ने गरेका छन् ।
हातमा वृद्ध बुवा प्रदीप कुमार खतिवडाको नाममा रहेको एक कट्ठा जग्गाको धनी पुर्जा लिएर स्थानीय सरकारलाई पटक पटक भनिरहेका छन् । 
आज सम्म पत्र काट्न बाहेक इटहरी उपमहानगरले केही गर्न सकेको छैन उनले भने । निवर्तमान नगरप्रमुखका अगाडी निरीह बनेको उपमहानगर जग्गाधनीलाई गैर जिम्मेवार जवाफ दिएको छ । गत भदौ २७ गते उपमहानगर प्रमुख हेमकर्ण पौडेलले तोक आदेश दिएर प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए । 
प्रशासनका अधिकृत सञ्जीव कुमार खड्काले चौधरीलाई के कति कारणले उक्त जग्गामा माछा पोखरी निर्माण गर्नु भएको हो ? आवश्यक प्रमाण सहित ७ दिन भित्र जवाफ पठाउन भनेको थियो । तर उपमहानगरबाट गएको पत्र, हुलाकबाट गएको पत्र दुवै बुझ्न चौधरीले मानेनन् । 
सात दिनको म्याद दिँदा कुनै वास्ता गरेका चौधरी एक महिना बितिसक्दा पनि इटहरी सरकार कानमा तेल हालेर बसेको छ । उल्टै जग्गाधनी खतिवडालाई नगर प्रमुख पौडेलले कति ताकेता गरेको, ऋण नै खाएजस्तो भन्दै अब यो जग्गा सम्बन्धी कुनै काम गर्न नसक्ने गैर जिम्मेवार जवाफ दिएका छन् । 
‘म पटक पटक आफ्नो जग्गा फिर्ता गरिदिन भन्दै वडा अध्यक्ष, मेयरलाई भन्दै आएको छु तर मेयर हेमकर्ण पौडेलले म सक्दिन भन्नु भयो ।’ अनमोलले भने “अब कहाँ जाऊँ ? ।” आफ्ना नागरिक प्रति जिम्मेवारी बन्नु पर्ने नगर प्रमुखको जवाफले अनमोल अब के गर्ने भन्ने अन्योलमा छन् ।
इटहरी-१७ लबीपुर चौक नजिकै पर्ने उक्त जग्गा २०६३ सालमा द्वारिकलालका बुवा नानुराम चौधरीबाट लिएका थिए । खतिवडा परिवार इटहरी-४ मा बस्दै आएका छन् । जग्गातिर आउजाउ कम हुने गरेका कारण द्वारिकलालले त्यही मौका छोपी माछा पोखरी बनाएका छन् । 
यस अघि चौधरीसँग कुरा गर्दा छिमेकी भएकाले आठ दश फिट मिचिएको होला भन्दै जवाफ दिएका थिए । उनले आफुँ बाहिरका काममा व्यस्त रहेको बताउँदै केही दिन पछि पोखरी पुर्ने आश्वासन दिएका थिए । तर अहिले चौधरी पोखरी नपुर्ने पक्षमा छन् । खतिवडा परिवारले उक्त जग्गा बैङ्कमा राखेर कर्जा समेत लिएको छ । मासिक किस्ता बुझाउँदै आएका उनीहरूले भोग चलन गर्न नपाउँदा न्यायकालागी कसलाई गुहार्ने चिन्तामा छन् । 
यता नगर प्रमुख पौडेल हतारोमा काम गर्नु भन्दा निश्चित ऐन कानुन पद्धतिमा रहेर जग्गा फिर्ता ल्याउने कम भइरहेको बताउँछन् । उनले धेरै तोकता गर्दा भइसकेको काम पनि रोकिने तर नियम अनुसार गरे केही समय लाग्ने बताए । नगरप्रमुख पौडेलले भने ‘हामी के कति जग्गा खनिएको हो हेर्छौ, त्यति काम गर्न कुनै गाह्रो छैन ।’