इटहरी : उपमहानगरपालिका निवर्तमान प्रमुख द्वारिकलाल चौधरीले छिमेकीको जग्गा मिचेर माछा पोखरी बनाएको खुलेको छ । चौधरीले लबीपुर चौकमा रहेको घर नजिकै प्रदीप कुमार खतिवडाको एक कट्ठा जग्गा घेराबार गरी माछा पालन गर्न थालेका हुन । 

जग्गाधनी खतिवडालाई थाहै नदिई उनले गत असारमा डोजरले खनेर पोखरी बनाएका थिए । जग्गाधनी खतिवडा इटहरी-४ मा बस्दै आएका छन् । जग्गा लबीपुरमा भए पनि उनको आउजाउ कम हुने गरेको थियो । त्यही मौका छोपी चौधरीले आफ्नो जग्गामा जथाभाबी डोजर चलाएको प्रदीपका छोरा अनमोल खतिवडाले आरोप लगाए । 
उनले जग्गाधनीलाई थाहै नदिई यति ठुलो आँट देखेर आफैमा आश्चर्य परेको बताए । कम्तीमा एक पटक सोध्नु पर्छ, जानकारी सम्म त हुनु पर्‍यो नि ! अनमोलले भने पटक पटक द्वारिक सरलाई सम्पर्क गरेँ उहाँले एक हप्ताको समय दिनु भयो तर ४ महिना बित्यो, आज सम्म पोखरी पुर्नु भएन । लामो समय देखि पोखरी पुर्न आग्रह गरे पनि अहिले नम्बर नै ब्लकमा लिस्टमा राखेको अनमोलको भनाई छ । उनले जग्गा हडप्ने शैलीमा यस्तो कार्य गरेको हुन सक्ने समेत आरोप लगाएका छन् ।  
उपमहानगरको निर्णय मान्दैनन् चौधरी
चौधरीले बेवास्ता गरेपछि खतिवडाले इटहरी उपमहानगरमा समेत निवेदन दिएका थिए । गत २७ गते नगर प्रमुख हेमकर्ण पौडेलले तोक आदेश दिएर प्रशासनमा उक्त पत्र पेस गर्न भएका थिए । प्रशासनले चौधरीलाई के कति कारणले उक्त जग्गामा पोखरी निर्माण गरिएको कारण खुलाएर प्रमाण पेस गर्न भनेको थियो । तर चौधरीले उक्त पत्र लिएका छैनन् । उनले हुलाकबाट आएको पत्र समेत बुझ्न मानेका छैनन् । आफै स्थानीय सरकारको प्रमुख भइसकेका चौधरीको हर्कतले खतिवडा अब के गर्ने भन्ने अन्योलमा पुगेका छन् । आफ्नै बुवाको नाममा रहेको धनीपुर्जाको फोटोकपी लिएर भौँतारिरहेका अनमोल कानुनी प्रक्रिया जाने तयारी गरेका छन् ।
इटहरी-१७ लबीपुरमा रहेको उक्त जग्गा ८(घ) नक्सा कित्ता नम्बर ६०६ को जग्गा २०६३ साल जेठ १ गते द्वारिकलालका बुवा नानुरामले खतिवडालाई बिक्री गरेका थिए । चौधरीको घर र उक्त जग्गा एकै ठाउँमा पर्छ । खतिवडाले उक्त जग्गा बैङ्कमा धितो राखेर कर्जा समेत लिएका छन् । उनी बैङ्कलाई मासिक किस्ता र ब्याज तिर्दै आएका छन् । तर त्यही जग्गामा द्वारिकलालले माछा पोखरी बनाएका छन् । त्यो पनि जग्गाधनीलाई थाह नै नदिई । 
यता यो विषयमा चौधरीले केही गल्ती भएको स्वीकार गरेका छन् । उनले टेलिफोन सम्पर्कमा आफुँले माछा पोखरी निर्माण गर्दा केही आठ दश फुट जग्गा छिमेकी तिर गएको बताए । ‘जग्गा सबै उक्काएर लगेको छैन, उसैको जग्गाको हो गर्नु नि के-के गर्न मन छ ।’ चौधरीले भने “अहिले म आफ्नै काममा व्यस्त छु, सहज हुने बित्तिकै पोखरी पुर्दिन्छु, भनेकै छु, के को कचकच ?” 
चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी नगरप्रमुख भएका थिए। नगर प्रमुख रहँदा पत्रकारलाई गालीलगौच गर्ने, सेवाग्राहीले कार्यालयमा थुन्ने देखि महिलालाई अभद्र व्यवहार गर्ने जस्ता घटनाले उनी विवादित भएका थिए ।   
नेकपा एमाले सुनसरी पूर्व अध्यक्ष समेत रहेका चौधरी केही समय अघि मात्रै नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी केन्द्र प्रवेश गरेसगैं उनले आगामी प्रदेश सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ (१) मा उम्मेदवार बनेका छन् । 
pokhari-2