विराटनगर :  झापा र मोरङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
शुक्रवार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका ३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ वर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यसैगरी मोरङको लेटाङ नगरपालिका-९ स्थितमा रहेको तेली खोलाको निर्माणाधीन पुलमा को १ ख ४०७७ नम्बरको मिक्स्चर मेसिनले सूर्य एण्ड सन्स कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका-१४ सिराहाका २४ वर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । 
दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।