झापा : झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआलीमा रहेको पाउँ पाथीभरा मन्दिर नजिकैबाट जङ्गलभित्र प्रवेश गर्ने साँघुरो बाटो छ । पूर्व-पश्चिम राजमार्गबाट झन्डै १ किलोमिटर दक्षिण झरेपछि पुगिन्छ घटनास्थलमा । 
घटना हो २०७९ साल पुस ४ गते दिउँसोको । जङ्गलमा घाँस दाउरा गएका केही स्थानीयहरुले एकै पटक दुई वटा शव देखेपछि अत्तालिँदै प्रहरीलाई खबर गरे । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली घटनास्थलमा पुग्यो । 
प्रहरीले घटनास्थलमा दुई वटा शव भेट्टायो । शवको प्रकृति हेर्दा शव ७० प्रतिशत कुहिएको अवस्थामा थियो । छेउछाउमा बस्नै नसकिने गरी गन्ध आइरहेको थियो । चारआलीको जङ्गलमा एकै साथ दुई वटा शव भेटिएको खबर एक कान दुई कान हुँदै मैदान भइसकेको थियो । 
सुरुमा प्रहरीलाई शवको पहिचान गर्न निक्कै हम्मेहम्मे पर्‍यो । क्रमशः साँझ पर्दै थियो । अन्ततः दुई वटै शवको पहिचान खुल्यो । यी शवहरू थिए झापाको अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकी कान्छी श्रीमती सज्नु इङ्नाम लिम्बूको । 
अर्जुनधारा-११ मूल घर भएका ५२ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षिया सज्नु इङ्नाम लिम्बूको कुहिन लागेको शव सोमवार दिउँसो भेटिएको थियो । दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोसहितको टोली खटिरहेको थियो । पुरुष झुन्डिएको र महिला भुईँमा लडेको अवस्थामा शव भेटिएको थियो । 
शवको प्रकृति हेर्दा करिब ८-१० दिनअघि मृत्यु भएको प्रहरीले अनुमान गर्‍यो । राति करिब ७ बजेतिर शवको पहिचान खुलेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । 
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले अहिले पोस्टमार्टमको रिपोर्ट नआउनुञ्जेल यसै भन्न सकिने अवस्था नरहेको बताए । उनले प्रहरीले आफ्नो तबरले घटनाका विषयमा सूक्ष्म अनुसन्धान गरिराखेको भए पनि घटनाको प्रारम्भिक अनुमान अनुसार श्रीमानले श्रीमतीको हत्या गर पश्चात् आत्महत्या गरेको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । 
घटनास्थलबाट प्रहरीले के के फेला पार्‍यो ? को हुन् ईङ्नाम दम्पती ?
प्रहरीले घटनास्थलबाट एउटा झोला, रक्सीको बोतल, दाउ, दुई जोर चप्पल, रस्सी फेला पार्‍यो । इङ्नाम दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । इङ्नाम दम्पती मेचीनगर-१२ मा डेरा बस्दै आएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले जानकारी दिए । 
मूल घरबाट उनीहरूले अंश समेत लिइसकेका थिए । करिब एक-डेढ वर्षदेखि इङ्नाम दम्पती घुम्दै काम गर्दै हिँड्ने गर्दथे । नेत्रकुमारले सन्जुसंग दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ । तर, सज्नुपट्टि सन्तान नरहेको बुझिएको छ । 
नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले बताए । तर, सन्जुको घाँटीमा डोरी नभेटिनुले श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनीहरू गत मङ्सिर २१ गतेबाट परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
Jhapa Chgarlai bady 2सन्जुको टाउकोमा हतियारको चोटजस्तो देखिएको तर शव कुहिसकेकाले स्पष्ट ठम्याउन नसकिएको डिएसपी पाठकले बताए । घरबाट अंश लिइसकेर मासिसकेको र जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद भएर कान्छीसँग बस्नुपर्दा पारिवारिक तनाव र कलहका कारण उनीहरूबिच सो घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । 
हत्या हो या आत्महत्या ?
हुन त हरेक घटना भइसकेपछि विभिन्न टीकाटिप्पणी आउने गरेका छन् । यस घटनामा पनि विभिन्न कोणबाट अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता वसन्त पाठक बताउँछन् । 
घटनाको प्रकृति हेर्दा र घटनास्थलमा देखिएको प्रकृति हेर्दा हत्या या आत्महत्या यसै भन्न सकिने अवस्था नरहेको प्रहरी प्रवक्ता पाठकले बताए । मृत फेला परेकी सञ्जुको घाटीमा डोरीको डाम समेत नहुनु अनि नेत्रकुमार झुन्डिएको रुख पनि सानो हुनुले अन्त कतै हत्या गरेर शव यहाँ ल्याएर व्यवस्थापन गरिएको हुन सक्ने विश्लेषण छ । 
तर, घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेको बुझिएकाले नेत्रकुमार आफैले श्रीमतीको हत्या गरेपछि पश्चात् आफूले पनि आत्महत्या गरेको हुनसक्ने अर्कोथरि विश्लेषण छ ।