झापा : झापाको दमकमा निर्माणाधीन दमक ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको काम अलपत्र परेको छ । एक वर्षभित्रमा सम्पन्न गर्ने गरी २०७६ साल वैशाख २३ गते शिलान्यास गरिएको भवन निर्माण कार्य अहिले पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । 

एक वर्षभित्रमा सम्पन्न गर्ने गरी २०७६ साल वैशाख २३ गते १ नम्बर प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यमा भवनको शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएकै ३ वर्ष बितिसक्दा समेत भवन निर्माणको काम बल्लतल्ल ६० प्रतिशत मात्रै पुरा भएको छ । झापाको दमक-५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण सुरु भएको भवनको लामो समय देखी निर्माणको काम रोकिएको छ । 

बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिन पुगेको दमक ट्राफिक भवन निर्माण समितिका सचिव चन्द्र खत्रीले जानकारी दिएका छन् छ । अहिलेसम्म दमक नगरपालिकाबाट ३० लाख र प्रदेश १ सरकारबाट १ करोड ५ लाख रुपैयाँ प्राप्त भइसकेको बताइएको छ । अहिले पनि निर्माण समितिसँग करिब ३२ लाख रुपैयाँ मौज्दात रहेको बताइएको छ । यद्यपि भवन निर्माणको काम भने अघि बढ्न सकेको छैन । 

ट्राफिक इन्चार्जसहित अन्य ट्राफिक प्रहरीहरू निर्माणाधीन भवनमै बस्ने गरेका छन् । यद्यपि निर्माणाधीन भवनमा बस्न जोखिमपूर्ण अवस्था भने यथावत् नै छ । बिजुलीको तारहरू यत्रतत्र छरिएका छन् भने भवन अझै बस्न योग्य भइसकेको छैन । बाध्यताले गर्दा उनीहरू निर्माणाधीन भवनमै जसोतसो बस्न बाध्य छन् । 

भवन निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०७७ साल वैशाखमा भनिएको भए पनि कोरोना भाइरसको प्रभावका कारण मुलुक लकडाउनमा गएपछि करिब ३ महिना कामनै ठप्प भएको थियो । त्यसपछि मजदुरहरूलाई सामाजिक दुरी कायम गराएर, स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर पुन निर्माणको काम सुचारु गरिएको भए पनि पुन काम रोकिएको छ । 

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, दमक नगरपालिका र दमकका स्थानीयबासीहरुको सहयोगमा निर्माणाधीन भवनमा १४ वटा कोठा रहने र छुट्टै मेस समेत निर्माण गरिने बताइएको छ । 

दमक ट्राफिक भवन निर्माण समितिले बुधवारबाट निर्माणको काम पुन सुचारु हुने बताए पनि बुधवार पनि काम सुरु भएको छैन । एकै पटक २०/२५ जना मजदुरले काम गर्ने र चाँडै निर्माण सम्पन्न गर्ने समितिका सचिव चन्द्र खत्रीले बताए पनि खासै उपलब्धि भने भएको छैन । पछिल्लो समय प्रदेश १ सरकारबाट २५ लाख रुपैयाँ र दमक नगरपालिकाबाट १० लाख रुपैयाँ निकासा भएको खबर पछि समितिले केही सक्रियता देखाएझैँ गरे पनि  काम भने सुचारु हुन सकेको छैन ।

DAmak traffic building 2