चतरा : वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को संशोधित पूरक बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । माघ ७ गते शनिवार मध्यावधि नगर सभामा १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पूरक बजेट सार्वजनिक गर्दै उपप्रमुख नन्दकुमारी सुनुवारले उक्त कुरा बताएकी छन् । उनले आर्थिक वर्ष २०७९/०८० को संशोधन सहित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सभामा नगर प्रमुख रमेश कार्की प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए  । उनले 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारालाई सफल पार्न काम गरिरहेको बताए । पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्नेको काम अगाडि बढेको स्पष्ट गरे ।
उनका अनुसार हाल सम्म वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकाशमा जोड दिएको छ । ‘एक वडा एक गौरवका योजना’ को काम अगाडि बढाइएको छ । कोसी कटानमामा राहत र उद्धारमा स्थानीय सरकारको प्रत्याभूति हुने काम गरेको छ । जङ्गली हात्ती नियन्त्रणमा नगरपालिकाले प्रभावकारी बताए । सुत्केरी महिलालाई एम्बुलेन्स खर्च, ज्येष्ठ नागरिकहरूको घर घरमा नै गई स्वास्थ्य उपचार, प्रसूति, सट्टा शिक्षक भर्ना लगाएको कामहरू कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख कार्कीले प्रतिवेदनमा उल्लेख छ ।
नगर प्रमुख कार्कीको प्रतिवेदनमा वडा ७ मा ३ सय धरधुरीलाई जग्गाको निस्सा वितरण गरी नाम जाँच गर्न कार्य सम्पन्न भएको उल्लेख छ । भूमि सम्बन्धी समस्या समाधानकालागि प्रारम्भिक चरणको घरधुरी सर्वेक्षण गरी उक्त प्रतिवेदनलाई नेपाल सरकार, प्रदेश सरकार र राष्ट्रिय भूमि आयोग समक्ष पेस गरिएको र भूमि सम्बन्धी समस्यालाई समाधान गर्न सुकुम्वासी समस्यालाई उच्च प्राथमिकता राखी समाधान गर्न पहल भइरहेको उनले जानकारी गराए ।
नगर सभाले फोहोर मैला व्यवस्थापन कार्यविधि गर्ने सम्बन्धी विधेयक २०७९ पास गरेको छ । वराहक्षेत्र नगरपालिकाको मध्यम अपाङ्गता ग वर्गका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यविधि २०७९, जेट वोट, ट्रेकिङ, कोयोकिङ, क्यानोइङग, बन्जी जम्पिङ, जिप लाइन, र्याफटिङ सञ्चालन गर्ने विधेयक २०७९, वराहक्षेत्र नगरपालिकाको आर्थिक ऐन २०७९ संशोधन सहित पारित समेत  गरेको छ । त्यस्तै वराहक्षेत्र नगरपालिकाको वास प्लान पारित गर्ने र स्थानीय पाठ्यक्रम समेत संशोधित सहित पारित गर्ने निर्णय गरेको छ ।