धरान : केन्द्रीय प्रविधि क्याम्पस, हत्तिसारमा भएको पूर्वाञ्चलका खाद्य वैज्ञानिक तथा प्रविधिकहरुको भेलाले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ नेफोस्टाको पूर्वाञ्चल च्याप्टर गठन गरेको छ । पूर्वका खाद्य प्राविधिकहरू साधारण सभाको अवसरमा हात्तीसारमा भेला भएका हुन् ।  
साधारण सभाले च्याप्टरको अध्यक्षमा सिजी फुड्स, सुनसरी शाखाका प्रमुख लक्ष्मण श्रेष्ठलाई निर्वाचित गरेको छ ।  सचिव कवीन्द्र भट्टराई, कोषाध्यक्ष संगेन रुमा राई चयन भएका छन् । सदस्यहरूमा अनन्त पौडेल, तेज कार्की, दिनेश सुवेदी र सौरभ कोइराला रहेका छन् । 
भेलामा नेफोस्टा केन्द्रीय अध्यक्ष डा.अतुल उपाध्यायले नेफोस्टाको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिँदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बद्र्धनको आवश्यकतामा जोड दिए । यसको समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्न बुँदागत आधारपत्र प्रस्तुत गरे । 
साधारण सभा प्रमुख अतिथि केन्द्रीय प्रविधि क्याम्पसका प्राध्यापक वसन्तकुमार राई थिए । उनले खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्न सकिने विभिन्न विकल्पहरू पहिचान गर्न जरुरी भएकोमा जोड दिदैं भेलाको निष्कर्ष प्रस्तुत गरेका थिए । 
नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको बताउँदै विश्वमै भीमकाय रूपमा बढिरहेको जनसङ्ख्यालाई भोकमरीबाट जोगाउन खाद्य वैज्ञानिकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रविधि प्रयोगलाई प्राथमिकतामा दिनुपर्नेमा जोड दिए ।
भेलामा केन्द्रीय प्रविधि क्याम्पसका सह प्राध्यापक बबिता अधिकारी, खाद्य गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख वरिष्ठ खाद्य अधिकृत विजय खनालले नेफोस्टा, खाद्य प्रविधिको अवसरहरूका बारेमा धारणा राख्दै नेफोस्टालाई सुझावहरू दिए । 
भेलामा पूर्वाञ्चलका ३६ खाद्य वैज्ञानिक तथा प्रविधिकहरुको सहभागिता थियो । नेफोस्टा पूर्वाञ्चल च्याप्टरका नवनिर्वाचित अध्यक्ष लक्ष्मण श्रेष्ठले आफ्नो कार्यकालका लागि प्रस्तावित कार्य योजनाहरू प्रस्तुत गरे । कार्यक्रम सञ्चालन खाद्य प्राविधिक आलोक श्रेष्ठले गरेका थिए ।