धरान : त्रिभुवन विश्वविद्यालयले यसपालि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने भएपछि विद्यार्थी सङ्गठनहरूमा चुनावी सरगर्मी बढेको छ । क्याम्पसहरूमा स्ववियु चुनाव केन्द्रित भएर विद्यार्थी सङ्गठनहरू विभिन्न कार्यक्रममा जुट्न थालेका छन् । त्रिविले स्ववियु चुनावको मिति आउँदो चैत ५ गते तोकेको छ ।
यसपालि त्रिविले घोषित मितिमै चुनाव गराउने सम्भावना भएकोले विद्यार्थी सङ्गठनहरू चुनावी तयारीमा लागेका हुन । धरानमा ४ क्याम्पसहरू मध्ये स्ववियु चुनावमा सबै भन्दा बढी महेन्द्र बहुमुखी क्याम्पस चासोको केन्द्र बन्दै आएको छ । त्यसैले इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, पिण्डेश्वर विद्यापीठ भन्दा बढी महेन्द्र क्याम्पसमा चुनावी गतिविधि बढी हुने गर्दछ ।
यसपालि चुनाव आउने दुई महिना अघि नै महेन्द्र क्याम्पसमा बढेको चुनावी गतिविधिको क्रममा समाजवादी विद्यार्थी युनियनको फुटसल प्रतियोगिताको ब्यानर टाँगिएको ठाउँबाट निकालेर फालिदिएकोमा युनियनले घोर भर्त्सना गरेको छ । चुनावी सन्दर्भमै उक्त सङ्गठनले फागुन ४ र ५ गते आयोजना गर्न लागेको समाजवादी महिला फुटसल प्रतियोगिताको ब्यानर फालिएको हो ।
ब्यानर फालिएको घट्नाको भर्त्सना गर्दै जनता समाजवादी पार्टीका धरान विद्यार्थी इन्चार्ज सुमन चेम्जोङले सामाजिक सञ्जाल मार्फत त्यस्तो कार्य गर्नेलाई चेतावनी दिँदै लेखेका छन् ‘जसले फ्याकेको भए पनि प्रतिशोधको भावनाले फ्याकेको भए लुकेर होइन प्रत्यक्ष भिड्न हामी तयारी छौँ । लुकेर हर्कत नगरियोस् ।’ पार्टीका नगर अध्यक्ष ताजुब लिम्बुले यस्तो कार्यले अस्वस्थ्य प्रतिस्पर्धा प्रोत्साहित हुने भएकाले सबै विद्यार्थी सङ्गठनहरूलाई अनुशासित भई चुनावी गतिविधि गर्न आग्रह गरेका छन् ।
यसअघि अनेरास्ववियुले चुनावी सन्दर्भमै विद्यार्थीहरूको वनभोज, धरान नगरस्तरीय फुटबल प्रतियोगिता गरिसकेको छ । नेपाल विद्यार्थी सघले ‘महेन्द्र क्याम्पस खुल्ला टिकटक प्रतियोगिता’ आयोजना गर्दैछ । फागुन १ देखी ५ गते सम्म सञ्चालन हुने प्रतियोगीताका विजेताहरूलाई ५ हजार, ३ हजार र २ हजार रुपैयाँ क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कारको रूपमा प्रदान गर्ने भएको छ । 
यसैगरी अनेरास्ववियु (क्रान्तिकारी)ले इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर विद्यार्थीहरूको साहित्य गोष्ठी आयोजना गर्दैछ । निबन्ध प्रतियोगिताको रूपमा हुने गोष्ठीका विजेताहरूलाई पुरस्कार प्रदान गरिने छ । त्रिविले स्ववियु निर्वाचन निर्देशिका कार्यविधि जारी गरिसकेकाले पनि चुनावी सरगर्मी सबै क्याम्पसहरूमा बढेको हो ।
धरानमा सबै भन्दा पुरानो महेन्द्र क्याम्पसमा विद्यार्थी बढी भएकाले पनि चहल पहल बढी हुने गरेको छ । धरानका क्याम्पसहरूमा नेविसंघ, अनेरास्ववियुको प्रभाव बढी भए पनि अघिल्लो चुनावमा महेन्द्र क्याम्पसमा समाजवादी विद्यार्थीले सभापतिको चुनाव जितेको थियो । विद्यार्थी सङ्गठनहरू राजनीतिक दलहरू सँग आबद्ध भएकाले राष्ट्रिय राजनीतिले पनि स्ववियु चुनावमा विद्यार्थी सङ्गठनहरूको चुनावी रणनीति निर्धारण गर्दछ ।
student-Election-dharan