• रश्मि प्रधान
धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बुले कार्यपालिकाको लेटर प्याड प्रयोग गरी वडा कार्यालयहरूलाई वडाको योजना तथा कार्यक्रमको प्रगति विवरण माग गरेकोमा वडाध्यक्षहरूले आपत्ति जनाएका छन् । 
मेयर हर्क साम्पाङले भने प्रशासकीय अधिकृतकै सुझाव अनुसार आफैले स्वकीय सचिवलाई पत्र पठाउन लगाएको बताएका छन् । बुधवार बसेको कार्यपालिकाको बैठक सोही पत्रको विवादका कारण कुनै निर्णय नभई स्थगित भएको छ ।
बैठकमा वडाध्यक्षहरूले आपत्ति प्रकट गर्दै स्वकीय सचिवलाई कारबाही गर्न वा माफी माग्न माग गरेपछि मेयर साम्पाङले भने ‘यति सानो कुरालाई ठुलो बनाएर विवाद नगरौँ ।’ उनले स्वकीय सचिवलाई आफैले पत्र पठाउन लगाएको बताउँदै त्यसले यस्तो असर गर्छ भन्ने नलागेको बताए ।
मेयर साम्पाङले भने ‘प्रशासकीय अधिकृतलाई १५ दिन अगाडि काम लगाएको हो उहाँकै सुझाव अनुसार मैले पत्र पठाएको हो ।‘ यसमा स्वकीय सचिवलाई कारबाही गर्ने कुरा नआउने बताउँदै उनले आफ्नो व्यस्तताले गर्दा सचिवालयबाट पत्र गएको बताए ।
उनले ‘के म अब कम्प्युटर पनि चलाउन थालौँ ?’ भनी प्रश्न गर्दै बरु मैले अह्राएको काम नटेर्ने वरिष्ठ प्रशासकीय अधिकृतलाई कारबाही गर्ने माफी नमाग्ने बताएपछि कार्यपालिका बैठक कुनै निर्णय नभई स्थगित भएको हो ।
यसअघि मेयरले प्रस्ताव टेबुल गर्नु अघि नै वडा १९ का अध्यक्ष पूर्णबहादुर लिम्बुले मेयरका स्वकीय सचिवले वडा कार्यालयहरूमा सम्पन्न योजना तथा कार्यक्रमको सूचि पठाउनु भनी पत्राचार गर्नु अनधिकृत भएकोले स्वकीय सचिव सुदर्शन लिम्बु लाई कारबाही गर्नु पर्ने माग राखेका थिए ।
वडा १७ का अध्यक्षले मनोज भट्टराईले स्वकीय सचिवको कार्यविधिमा त्यस्तो क्षेत्राधिकार नभएको प्रस्ट्याउँदै उपमहानगरपालिका विधि र पद्धति अनुसार चल्नु पर्ने बताए । उनले भने ‘त्यसो नभए २० वटै वडाका कार्यालय सहयोगीको हस्ताक्षरमा मेयरलाई डाटा पठाउन तयार छौँ ।’
उनले स्वकीय सचिवको काम के के हो भनी मेयर साम्पाङलाई बुझाएका थिए । वडा १० का अध्यक्ष विवेक राईले ‘हामी वडा अध्यक्षहरू मेयरको कारिन्दा हो ?’ भनी प्रश्न गर्दै वडा अध्यक्षहरू पनि मेयर जस्तै चुनाव जितेर जनप्रतिनिधि भएको बताए ।
उनै स्वकीय सचिवबाट कार्यपालिका कार्यालयको लेटर प्याड दुरुपयोग भएकोमा माफी माग्ने वा कारबाही गर्ने विकल्प रहेको बताए। उनले ‘कार्यपालिका कार्यालय हर्क साम्पाङ ए रेभुलेशन कम्पनी हो कि के हो ?’प्रश्न गर्दै जन्तरे अन्तरे गुइँठे हामी होइन भन्दै वडाले डाटा नपठाउने बताए ।
वडा १६ का अध्यक्ष मुरारी भट्टराईले विधि प्रक्रिया र पद्धति अनुसार पत्राचार भए वडाका सम्पूर्ण डाटा पठाउने बताए । यसै बिच एजेन्डा प्रस्तुत हुन नपाउँदै बैठक स्थगित भएको भन्दै मेयर साम्पाङ सभा हलबाट बाहिरिएका थिए ।
विवादका कारण बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिकृतज्यूसँग परिचय, मदन भण्डारी र कोसी राजमार्गको मापदण्ड, नगर शिक्षा समिति गठन, नदीजन्य पदार्थ उत्खनन उपयोग र व्यवस्थापन सम्बन्धी स्थानीय मापदण्ड २०७९ मा छलफल गर्ने एजेन्डा थियो ।
Dharan-Karyapalika-2-01
स्वकीय सचिवको अनधिकृत परिपत्र
PA-letter