धरान : सुनसरीको गढी गाउँपालिका-२ का ३८ वर्षीय जमिल खातुनलाई एक हजार पाँच सय रुपैयाँको नेपाली नक्कली नोट सहित प्रहरीले हिजो साँझ इटहरीबाट पक्राउ गरेको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार उनको साथबाट एक हजारको ६ थान र पाँच सय रुपैयाँको २२ थान नक्कली नेपाली नोट बरामद गरिएको छ ।
इटहरी-१ आपगाछीमा लागेको सिरुवा मेलामा साँझ सवा सात बजेतिर खातुनले जुलेबी किनेर पसलेलाई एक हजार रुपैयाँको नोट दिएका थिए ।
उक्त पसलेलाई नोटमा शङ्का लागि मेलामा खटिएका प्रहरी टोलीलाई उक्त नोटको जानकारी दिए । लगत्तै प्रहरीले जमिललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा थप अरू नक्कली नोटहरू पनि बरामद गरिएको हो ।
नक्कली नोट सहित पक्राउ परेको जमिललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।