धरान : लायन्स क्लब ३२५ सी एरियाको महाधिवेशन धरानमा हुँदैछ। ५२ वर्ष अघि लायन्स स्थापना भएदेखी पहिलो पटक धरानमा अधिवेशन आयोजना गरिएको हो ।

डिस्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने ‘धरानको लागि यो ऐतिहासिक महाधिवेशन हो ।' महाधिवेशन जेठ १२ गते धरान-१५ स्थित किरात थाक्थुम चुम्लुङ हिममा हुदैछ ।

डिस्ट्रिक्ट महाधिवेशनमा नयाँ डिस्ट्रिक्ट गभर्नरको निर्वाचन हुनेछ। डिस्ट्रिक्ट ३२५ सी क्षेत्रमा १० वटा जिल्लाका १६० लायन्स क्लबमा ४ हजार सदस्यहरू आबद्ध रहेका छन् । त्यसमध्ये नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सहभागी हुन मताधिकार ३ सय ४३ जनाले मात्र पाउने छन् ।

महाधिवेशनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट ७ सय जना प्रतिनिधि सहभागी हुने वर्तमान डिस्ट्रिक्ट गभर्नर गुरुङले बताए । उनी लायन्स क्लबमा धरानबाट डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुने पहिलो लायन हुन ।

उनले भने ‘लायनमा लागेको ३८ वर्षपछि मैले गभर्नरको निर्वाचन जितेको हुँ ।’ धरानबाट पहिलो डिस्ट्रिक्ट गभर्नर भई लायन्स क्लब ईन्टरनेशनल फाउन्डेसनबाट धरानमा उल्लेखनीय काम गरेको गुरुङले बताए ।

धरान-१३ स्थित लायन्स सत्यसाई स्कुलमा करिब १ करोड ७० लाखको भवन निर्माण उनकै कार्यकालमा सम्पन्न भएको हो । धरान-१५ स्थित ज्ञान चक्षु स्कुलमा १५ सय २५ वटा सेतो छडी प्रदान गरियो ।

धरानका सामुदायिक स्कुलमा १ लाख ५० हजार डट-कापी प्रदान गरियो । ५ हजार ५ सय ५५ पिन्ट रक्तदानको लक्ष्य राखिएकोमा ५ हजार ६ सय ८५ पिन्ट रगत सङ्कलन गरिएको उनले बताए ।

गुरुङको कार्यकालमा लायन्स क्लबहरू मार्फत बहिरा, दृष्टिविहिनहरुलाई कान सुन्ने मेशिन वितरण गरियो । साथै काठमाडौँ, कीर्तिपुरमा लायन्स ब्लड बैक शाखा रहे जस्तै चाडै धरानमा स्थापना गरिने उनले बताए ।

लायन्स क्लबको डिस्ट्रिक्ट महाधिवेशन धरानमा आयोजना हुनु निकै अर्थपूर्ण रहने बताउँदै उनले यसबाट लायन्स क्लबको विकास एवं कल्याणकारी कार्यक्रमहरू धरानमा सञ्चालन हुने तथा धरानको पर्यटनको प्रवर्द्धनमा पनि भूमिका खेल्ने कुरा उल्लेख गरे ।

उनका अनुसार ‘हामी  सेवा गर्छौ’ भन्ने नाराका साथ विश्वमा १९१७ मा स्थापित लायन्स क्लब १९७१ मा नेपालको विराटनगरमा स्थापना भएको जानकारी दिए । उक्त पहिलो क्लब पूर्व प्रधानमन्त्री स्वर्गीय  मातृका प्रसाद कोइरालाले गरेका थिए ।

धरानमा भने सन् १९८५मा लायन्स क्लब स्थापना भएको र हाल क्लबमा २१ वटा लायन्स क्लब आबद्ध रहेको उनले जानकारी दिए। उनका अनुसार विश्वका २१० राष्ट्रमा १४ लाख रहेका मध्ये ४२ हजार सदस्य नेपालका रहेका छन् ।

महाधिवेशनमा प्रमुख अतिथि लायन्स क्लबका पास्ट ईन्टरनेशनल डाइरेक्टर पिआईटि सञ्जय खेताङ आउने गुरुङले बताए । अतिथिहरू चाहना अनुसार धरान र भेडेटारको पर्यटकीयस्थलहरुको अवलोकन भ्रमणको कार्यक्रम पनि राखिएको छ ।

उद्घाटन समारोह अघि महाधिवेशनका सहभागीहरूको शान्ति र्‍याली चुम्लुङ भवनबाट सुरु भई धरान बजार परिक्रमा गर्ने कार्यक्रम छ। महाधिवेशनले नयाँ नेतृत्व, कार्यसमिति चयन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्नेछ ।