धरान : किरात देवान समाजको चौधौँ स्थापना दिवसको अवसरमा आज बिहान आयोजित रक्तदानमा कुल ८३ पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानमा ७० जना पुरुष र १३ जना महिलाले रक्तदान गरेका थिए ।
रक्तदान किरात देवान समाज केन्द्रीय समिति, लायन्स क्लब अफ दन्तकाली धरान, लायन्स क्लब अफ विजयपुर युनाइटेड र लियो क्लब अफ दन्तकाली धरानले संयुक्त रूपमा आयोजना गरेको हो ।
उक्त अवसरमा जियाउल मेमोरियल ट्रष्टका अध्यक्ष समाजसेवी डा.खालिद हुसेन हकले धरानमा रक्तदानको विशेष महत्त्व रहेको उल्लेख गर्दै  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक आउने हजारौँ बिरामी मध्येमा धेरैको जीवन यहाँ हुने रक्तदानले बचाउँदै आएको बताए ।
उनले किरात देवान समाजले वर्सेनी ट्रष्टकै परिसरमा रक्तदान कार्यक्रम गर्दै आएको बताउँदै समाजले गरेको रक्तदान समुदायका लागि मात्र नभएर सबै जाति, समुदायका लागि जीवन दान तथा कल्याणकारी योगदान पुर्‍याएकोमा प्रशंसा गरे ।
किरात देवान समाजका केन्द्रीय अध्यक्ष गणेशकुमार देवानले रक्तदानको सुरुआत विश्व युद्धका बेला देखी भएको बताउँदै त्यस बेला युद्धमा घाइते सिपाही बचाएको रक्तदान एक्कासौं शताव्दीमा आएर मानव कल्याणकारी अभियानको रूपमा अघि बढेको बताए ।
जाति, समुदाय सम्बद्ध संस्थाहरूले भाषा, संस्कृति र संस्कार सँगै आफ्ना समुदायलाई समाजका लागि कल्याणकारी कार्यमा पनि अग्रसर बनाउन समाजले वार्षिक कार्यक्रममा रक्तदानलाई प्राथमिकतामा राखेको अध्यक्ष देवानले उल्लेख गरे । रक्तदान उद्घाटन कार्यक्रम उनैको सभापतित्वमा भएको थियो ।
देवान समाजका अग्रज ज्येष्ठ नागरिक नन्दकुमार देवानको प्रमुख अतिथित्वमा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्राविधिक सहयोग प्रदान गरेको थियो । उक्त अवसरमा किरात देवान समाजको चौधौँ स्थापना दिवसको स्मृति स्वरूप १४ वटा मैनबत्ती बलिएको थियो ।
कार्यक्रममा चौबिसे समाजका सुनसरीका अध्यक्ष भूवन हाङगाम, शसस्त्र प्रहरीका डिएसपी सुरज रिजाल, लायन्स क्लबकी टंककुमारी गुरुङ, संगीता सुब्बा, किरात देवान समाजका वरिष्ठ सल्लाहकार भीमबहादुर देवान लगायत उपस्थिति थिए ।
blood-donation