इटहरी : इटहरी उपमहानगरले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने विस्तृत अनुसन्धान सुरु गरेको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरे सँगै इटहरी उपमहानगरले देशमै पहिलो पटक सम्याति इलेक्ट्रो व्हील्स प्रालि सँग सम्झौता गरेको हो ।
पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण र विस्तृत अनुसन्धान गर्ने सहमती भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताउँदछन् । "पुरानो मोटरसाईकल उपमहानगरले दिने र सो मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको छ," मेयर पौडेलले भने ।
"संघिय सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका  सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो त्यही अनुरूप पहिलो चरणमा अनुसन्धान गर्न हामीले थालेका छौ,"  मेयर पौडेलले भने ।
‘रूपान्तरण गर्न सकिने देखिएका सवारीसाधन गर्न हामी तयार छौ,' इटहरीका मेयर पौडेलले भने । देशमै पहिलो पटक स्थानिय तहले यो सहमती गरेर काम सुरु गरेको मेयर पौडेलको दाबी छ । कम्पनीका आदित्य आचार्य, रिसब गड्तौला, अस्तित्व मादेम्बा र निकेश बज्रचार्य लगायतले पेट्रोल गाडीलाई रूपान्तरण गर्ने छन् ।
कम्पनी संचालक इटहरीकै आदित्य आचार्य भन्छन् हामी छ महिना भित्र २ वटा पेट्रोल मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्छौ । अहिले सम्म यो प्रयास कुनै पालिकाले नगरेको बताउने आचार्य भन्छन् देशभरिमा इटहरी पहिलो भयो ।
पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर र राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताउँदै आएका छन् ।सरकारले चालू आर्थिक वर्षकै बजेटमा पेट्रोलियम पदार्थका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न दिने भनेको थियो।
सरकारले यसअघि नै सार्वजनिक मितव्यायी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्डमा पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्नसक्ने व्यवस्था गरेको थियो ।