इटहरी : नेपाली काँग्रेस रूपान्तरण अभियान कुनै गुट वा समूहको विरुद्ध नभएको नेता गुरुराज घिमिरेले बताएका छन् । पार्टी अव्यवस्थित ढङ्गले सञ्चालन हुन थालेपछि नेतृत्वलाई खबरदारी गर्ने र कार्यकर्ताको गुनासो सुन्ने फोरमको रूपमा अभियान सुरु भएको उनले बताए ।

कोशी प्रदेश स्तरीय विचार तथा अन्तरक्रिया कार्यक्रम मङ्गलवार सुनसरीको इटहरीमा हुँदैछ । १४ वटै जिल्लाका काँग्रेस कार्यकर्ता सँग संवाद गर्ने गरी तयारी भएको अभियानका संयोजक समेत रहेका घिमिरेले बताए ।

सुदूरपश्चिम देखी सुरु भएको अभियानको पहिलो चरणमा कोशी प्रदेशको कार्यक्रम पछि अन्तर्राष्ट्रिय समन्वय समिति सँग अन्तरक्रिया हुने उनले जानकारी दिए । इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले कार्यकर्ताको गुनासोलाई केन्द्रीय कार्यसमिति र सभापति समक्ष बुझाउने बताए ।

सभापति शेरबहादुर देउवा पार्टीलाई विधि सम्मत सञ्चालन गर्न तयार नदेखिएकाले खबरदारीमा उत्रिएको घिमिरेले प्रष्ट पारे ।  विधिको शासनको पक्षमा काँग्रेस हुनुपर्ने तर त्यो हुन किन सकेन भन्ने कुरा हो । पुरानो व्यवस्था फर्काउने देखि नयाँ दलहरू "काँग्रेसको चुनौतीका रूपमा देखिएका छन् ।, उनले भने,  अव्यवस्थित पार्टी प्रणाली हटाउन खबरदारी गर्ने बेला भएको छ । पार्टीका साथीहरूका कुरा सुनेर केन्द्रीय समिति समक्ष प्रस्तुत गर्छौ । दोस्रो चरणमा जिल्ला, निर्वाचन क्षेत्र र पालिका तह सम्म अभियान पुर्‍याउने लक्ष्य राखेका छौँ ।"