धरान : उपभोग्य वस्तुको बढ्दो महँगीसँगै धरानमा राँगाको मासुको मूल्य बढेर उत्पादन लागत वृद्धि हुँदा त्यही अनुपातमा सुकुटीको भाउ पनि बढेको छ । सुकुटीको भाउ बढे पनि बिक्रीमा आएको मन्दीले व्यवसायमा गिरावट आएको सुकुटी व्यवसायीहरू बताउँछन् ।
दैनिक ४० किलोभन्दा बढी बिक्री हुने सुकुटी अहिले १० देखि १५ किलो मात्र बिक्री हुने गरेको व्यवसायी श्याम तामाङले बताए । उनले भने,‘पहिले सुकुटी सस्तो हुँदा किलोमा बिक्री हुन्थ्यो तर अहिले किलोमा किनेर खाने अवस्था नभएपछि व्यापार घटेको छ ।’
धरानमा पसल अनुसार सुकुटीको मूल्य ५० देखि १०० रुपैयाँ फरक हुने गरेको पाइन्छ । अहिले सुकुटीको सामान्यतः मूल्य प्रतिकिलो १७ सय छ । व्यवसायी तामाङका अनुसार सबै व्यवसायीले समान मूल्य नराखेकाले व्यवसायमा प्रतिस्पर्धा हुने गरेको बताए । बजारमा सुकुटीको माग बढ्न थालेपछि मूल्यमा पनि असर पर्ने गरेको उनको भनाई छ ।
महँगो भएपनि धराने सुकुटीको माग अत्यधिक हुने गरेको छ । कारोनाकालको लकडाउनपछि धरानमा सुकुटीको मूल्य बढेको हो । सुकुटी व्यवसायीको सङ्ख्या भने घट्दै गएको एक महिला व्यवसायीले बताइन् ।
उनले भनिन् ‘लागत खर्च अनुसारको बिक्री मूल्य नपाउँदा हरेक वर्ष व्यवसायीको सङ्ख्या घट्दै गएको छ,।’ उनले २०७७ साल देखि सुकुटी व्यवसाय सुरु गरेको तर व्यवसाय सुरु गर्न नपाउँदै लकडाउन भएकोले पसलको मासिक भाडा ८ हजार पनि तिर्न नसकेको बताइन् । लकडाउनपछि व्यापार राम्रै चलेको छ, तर अहिले महँगीको कारण माग धेरै नै घटेको उनको भनाई छ ।
विदेशमा रहेका आफन्तलाई कोशेली पठाउनेहरूले सुकुटी अत्यधिक किन्ने गरेका छन् । विशेष गरी चाडपर्वको नजिक धराने सुकुटीको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।
यसपालि भने विराटनगरकी बिना श्रेष्ठ धराने सुकुटी खरिद गर्न अन्योलमा परेकी छन् । बेलायतमा रहेको काकालाई धराने सुकुटी कोशेली पठाउने गरेकी बिनाले यसपालि धरानमा राँगा भनेर गोरुको सुकुटी बिक्री हुने गरेको सुनेपछि सुकुटी खरिद गर्न अन्योलमा परेको बताइन् ।
उनले भनिन् ‘धरानबाट सुकुटी किन्दै आएको धेरै वर्ष भयो, यस्तो कहिल्यै सुनेको थिइनँ ।’ तर अहिले धरानमा राँगाको सुकुटी भनेर गोरुको सुकुटी बिक्री हुन्छ भनेर सुनिरहेको उनले बताइन् । वास्तविकता के हो ? आफूलाई थाहा नभएको बताउँदै उनले भनिन् ‘मैले प्रायः सुकुटी किन्ने पसल अहिले बन्द भएछ । अरू पसलमा गएर किन्ने आँट आएन ।’
गएको महिना सामाजिक सञ्जालमा धरानमा गोरु काटेर खाएको कुरा प्रचार गरिएको थियो । एक महिलाले गोरुको मासु खाएको भन्दै बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यही कारण धरानमा राँगाको सुकुटी भनेर गोरुको सुकुटी बिक्री गरिन्छ भन्ने हल्ला चलेको हुनसक्ने स्थानीय सूर्य कार्कीले बताए । उनले भने ‘धरान हल्लाको सहर न हो ।’
उनका अनुसार मान्छेहरू हल्लाका पछि लाग्छन् तर यथार्थ के हो भनेर खोज्दैनन् । कार्कीले भने, ‘धराने सुकुटी नेपालमा मात्रै होइन विदेशमा पनि लोकप्रिय छ तर अहिले अचानक गोरुको सुकुटी भनेर प्रचार गरिनु सुकुटीमा पनि राजनीति भइरहेको छ, जस्तो लाग्छ ।’
Sukuti dharan