धरान : प्रहरीले इटहरीबाट १५ लाख रुपैयाँ बढी गणना हुने नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

सङ्खुवासभा घर भएका विवेक राई र अजय राईलाई बिहीबार दिउँसो १ बजे इटहरी-६ हटिया लाइनबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । 

उनीहरूको साथबाट १५ लाख ८३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले घट्नाको पुष्टि गरे पनि विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिने बताए ।

चाडपर्व नजिकिँदै गर्दा यस्ता गिरोह सक्रिय हुने गरेका छन् । प्रायः नक्कली नोटको कारोबार गर्ने गिरोहले होटेल, रेष्टुरेन्टको बिल तिर्न, जुवा खेल्ने र लागूऔषध किन्न प्रयोग गर्ने गरेका छन् ।