विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् ।

आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने र सङ्घ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताएका हुन ।

विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जू गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरू सँग वृहत् छलफल भएको हो ।

स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ ।

मुख्यमन्त्री कार्कीले केशलीया नदीको एकीकृत विकाशले कोशी प्रदेश साझेदारीको पर्यटन तथा कृषिमा समेत टेवा पुर्‍याउने भन्दै यसका लागि सङ्घ प्रदेश र स्थानीय सरकार बिचको सहकार्य जरुरी रहेको बताए ।

उनले नदी मानव जीवन सँग जन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षण सँगै सौन्दर्यीकरण गर्न सके आर्थिक लाभ समेत लिन सकिने बताए ।

छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीका बारेमा विस्तृत जानकारी गराएका थिए । उनले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीया नदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जू गाउँपालिकाका १, २, ३ लाई छुन्छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जू गाउँपालिकाका अध्यक्ष जिवछ कुमार राय लगायतका पालिका उपप्रमुख तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।