धरान : महिला माथि हुने लैंगिक हिंसा न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि धरानका २५ जना घरेलु श्रमिक महिलाहरूलाई २ दिने तालिम प्रदान गरिएको छ ।

गृह श्रमिक महिला, ढाका लघु उद्यमी समाज र सामुदायिक सुरक्षा जालोका व्यवस्थापनमा ललितपुर स्थित टेवा नामक संस्थाले तालिम सञ्चालन गरेको हो ।

कात्तिक १६ र १७ गते भएको तालिममा विपद् व्यवस्थापन तथा लैंगिक हिंसा न्यूनीकरणका लागि सहभागीहरूलाई पौरखी क्षमता अभिवृद्धि प्रशिक्षण प्रदान गरिएको बताइएको छ ।

तालिम धरान-१५ नीराजन बाल विकास केन्द्रको भवनमा भएको हो । तालिममा गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज, सामुदायिक सुरक्षा जालोका महिलाहरू सहभागी थिए ।

लैंगिक हिंसा न्यूनीकरण विषयमा धरान उपमहानगरपालिका सामाजिक महाशाखा अधिकृत भुवन राईले सहजीकरण गरेकी थिइन् । विपत् व्यवस्थापन विषयक प्रस्तुति विनोद विश्वकर्मा र लोकराज निरौलाले गरेका थिए ।