झापा : सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको स्कारपियो जिप शुक्रवार राती झापाको कनकाई नगरपालिका-८ विरिङ पुलमा दुर्घटनामा परेको छ ।

को १ च ७८३९ नम्बरको स्कोरपियो र तीन जना सवार मोटरसाइकल राती करिब साढे ८ बजे आपसमा ठक्कर लाग्दा एक जनाको मृत्यु भएको छ । अन्य घाइते भएका छन् ।

मोटरसाइकलमा सवार ३ जना मध्ये २ जना गाडीको ठक्करबाट पुल मुनी खोलामा खसेका थिए । मोटरसाइकलको बिचमा सवार कमल-६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्‍याइएको अवस्थामा मृत्यु भएको प्रहरीको भनाई छ ।

घटना बारे कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले सवारी दुर्घटना भएको पुष्टि गरेका छन् । दुर्घटनाबारे विस्तृत विवरण जिल्ला प्रहरीबाट बुझ्न सकिने उनले बताए ।

इलाका प्रहरी बिर्तामोडका डिएसपी सुरज कार्कीले तिहारको बिदा भएकाले बिदा पश्चात् कानुन बमोजिम कारबाही हुने बताए । उनका अनुसार मृतकका परिवारले शव बुझेर पोस्टमार्टमका लागि भद्रपुर लगेका छन् ।

मोटरसाइकल चालक कमल-६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया र पछाडि सवार सोही १८ वर्षीय पूजन राजवंशी घाइते भएका छन् । चालक ताजपुरिया सामान्य घाइते छन् । राजवंशीको आइसियुमा उपचार भइरहेको छ ।