धरान : मोरङको उर्लाबारीमा भएको आगलागीमा पीडित घाइतेहरूको उपचार खर्च सङ्घीय सरकारले व्यहोर्ने मुख्यमन्त्री केदार कार्कीले वचन दिएका छन् ।  

कीर्तिपुर स्थित बर्न अस्पताल काठमान्डुमा उपचार गराई रहेका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जनकारी लिन मुख्यमन्त्री कार्की शनिवार अस्पताल पुगेका थिए ।

अस्पतालमा आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकार व्यहोर्ने जानकारी गराएका हुन ।

मुख्यमन्त्री कार्कीले भने, ‘कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रबन्ध सङ्घीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैले सङ्घीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरेँ । उहाँले सरकारले गर्ने भन्ने प्रतिबद्धता जनाउनु भयो ।’

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी-७, बरगाछी स्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरी सहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमान मार्फत काठमाडौँ लगिएको थियो ।

ती सबै झापाको बिएन्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन । मुख्यमन्त्री कार्कीका अनुसार तीन जनाको शल्यक्रिया भएको र अरूको थप उपचार भइरहेको छ । उनले भने ‘अमेरिकाबाट केही चिकित्सक उपचारमा सघाउनका लागि आउँदै हुनुहुन्छ ।’

आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट सेनाको विमानमा राखेर लगिएको थियो ।