धरान : नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्म जयन्तीको दिन आज पुस १५ गते धरानका लेखक, कवि, साहित्यकारहरूले उनलाई सम्झिएका छन् ।

धरान-१६ लेखनाथ चौक स्थित लोखनाथको सालिकमा माल्यार्पण गरी उनलाई सम्झिएको हो । कवि शिरोमणि साहित्य साधना समाजद्वारा आयोजित माल्यार्पण कार्यक्रममा प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्द तुम्बाहाङ प्रमुख अतिथि थिए ।

तुम्बाहाङले कवि शिरोमणिको संक्षिप्त चर्चा गर्दै लेखनाथ नेपाली छन्द कविताका महान् कवि भएको बताए । प्राडा. टङ्क न्यौपानेले लेखनाथ पौडेल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको बताए ।

प्राडा गोपाल प्रसाद भण्डारीले लेखनाथ पौड्यालका कविताहरू मानवीय जीवनका सबै पक्ष समेटिएको बताउँदै भने, ‘उनले जुवा खेलका बारेमा पनि कविता लेखेका छन् ।’ मौरीलाई कौडीको प्रतीक बनाएर लेखिएको कविताका बारेमा उनले चर्चा गरे ।

कवि शिरोमणि साहित्य साधना समाजका अध्यक्ष सिद्धि कर्ण शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्राडा खेम दहाल, प्राडा वंशीधर कट्टेल लगायतले पौड्यालको कविताको चर्चा गर्दै उनका कविताका शश सुनाएका थिए ।

समाजका सचिव डा.भवानी शङ्कर भट्टराईले स्वागत भाषणको क्रममा समाजले कवि शिरोमणिको स्मृतिमा माघ १५ गते वृहत् कविता प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए । डा.महानन्द तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा धरानका साहित्यिक संस्थाहरूका अगुवाहरू, कवि, साहित्यकार बुद्धिजीवीहरूको सहभागिता थियो ।

siromani lekhnath 2