धरान : ‘धरान डे’ को अवसरमा पब्लिक हाई स्कुल मैदानमा लगाइएको मेला बिच शुक्रवार भएको भएको उद्घाटन समारोहमा सबैका आकर्षण काठमाण्डू महानगरपालिकाका मेयर बालेन साह रहेको देखियो ।
उनी समारोहका प्रमुख अतिथि थिएनन् । बालेन साह समारोहमा आउने सार्वजनिक जानकारी सर्वसाधारणलाई दिइएको थिएन ।
'धरान डे' मेलाको बारेमा जानकारी दिन बुधवार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । तर समारोहमा विशेष अतिथि बालेन साह आउने जानकारी मेयर हर्क सम्पाङले दिएका थिएनन् ।
उद्घाटनको दिन आज शुक्रवार बिहान मात्र ‘धरान डे बालेन आउने जानकारी सर्वसाधारणले अनलाइन मिडियाबाट थाहा पाए । उद्घाटन समारोह अघि 'कपुरी न्युज'ले समारोहमा काठमाण्डू महानगरपालिका मेयर बालेन साह आउने ब्रेकिङ न्युज प्रकाशित गरेको थियो ।
धरानका मेयर हर्क साम्पाङले उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ल्याउन दबाब स्वरूप नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउने कार्य समेत गरेका थिए ।
तस्बिर लगाउन जुलुस प्रदर्शन सहित गएको ५ दलका युवाहरूलाई उनले प्रधानमन्त्रीलाई उद्घाटन समारोहमा उपस्थित गराउन लिखित सहमति गरेमा तस्बिर पुनः लगाउने शर्त राखेका थिए ।
तर युवाहरूले त्यसमा दलहरूको सहयोग लिन गरेको आग्रह अस्वीकार गरेपछि प्रधानमन्त्री बोलाउने कुरा टुङ्गिएको थियो ।
मेयर हर्क साम्पाङले दलहरूको सहयोग, सहकार्य अस्वीकार गरेकाले उद्घाटन समारोहमा धरानमा क्रियाशील ५ राजनीतिक दलका स्थानीय नेतृत्वहरू उपस्थित भएनन् । उपमहानगरपालिकाले जनाए अनुसार दल र दलका स्थानीय नेताहरूलाई उपस्थितिका लागि निमन्त्रणा-पत्र पठाइएको थियो ।
नेपाली काँग्रेसका उपमहानगर सभापति श्याम पोखरेलले भने ‘मैले निमन्त्रणा पत्र नपाएकाले नगएको हुँ ।’ उनले पार्टीबाट निर्वाचित वडाध्यक्षहरू समारोहमा उपस्थित थिए । अन्य दलका स्थानीय नेतृत्वहरू पनि समारोहमा नगएको आफूले थाहा पाएको बताए । पूर्व मेयर, उपमेयरहरू पनि अनुपस्थित थिए ।
समारोहको उद्घाटन धरान-९ की १०३ बर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया कटुवालले गरेकी थिइन् । प्रमुख अतिथि कटुवालले विशिष्ट अतिथि बालेन साह, धरान नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघालाई माला लगाई स्वागत गरेकी थिइन् ।
समारोहमा बालेन साहले संस्कार संस्कृति कलाको बहुआयामिक, बहुसांस्कृतिक सहर धरान काठमाडौँ भन्दा कयौँ गुणा सांस्कृतिक क्षेत्रमा अगाडि रहेको बताए । उनले आफूले थाहा पाए देखि बिपी हस्पिटलको चर्चित स्वास्थ्य केन्द्र रहेको धरान सुन्दर, फेसनेबल सहरको रूपमा बुझैको सुनाए ।
मेयर बालेनले भने ‘धरानका जनता आफ्नो लागि आफै लगानी गरेर बाटोघाटो बनाउने लहुरेहरुको सहरको रूपमा परिचित सहर हो ।’ यसै कारण आधुनिक सहरको रूपमा विकसित गर्न धरानलाई सहज भएको बताए ।
उनले मेयर हर्क साम्पाङको श्रम संस्कृति सबैले नगरपालिकाले सिक्न जरुरी रहेको भन्दै प्रशंसा गरे । धरानका मेयर हर्क साम्पाङले संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता रहेको सहर धरान भएको झल्काएको बताए ।
उनले भने ‘राष्ट्रिय गानले भने जस्तै सयौँ थरीका फूलका साझा एउटा मालाको रूपमा धरान सहरमा बहुसङ्ख्यक जातीय विविधता रहेको छ ।’ धरानमा हरेक कार्यक्रमहरूमा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृति प्रदर्शन हुने गरेको बताए ।
उपमेयर आइन्द्रविक्रम बेघाले धरान १२३ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बसाएको बस्तीको विकसित रूप भएको बताए । उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, विद्यालय सांस्कृतिक झाँकी सहितको र्यालीमा सहभागी थिए । पब्लिक हाई स्कुलबाट निस्किएका झाँकी सहितको र्याली छाता चोक, टेलिकम हुँदै पुरानो बजार, भानुचोक पुतलीलाईन, सब्जिमण्डी हुँदै पुन: पब्लिक स्कुलमा पुगेर औपचारिक कार्यक्रम सुरु भएको थियो । र्यालीमा धरानका जातीय संस्थाहरूको सहभागिता थियो ।
समारोहमा उत्कृष्ट कर बुझाउने करदाताहरू चेतन अग्रवाल, साबित्रा घले, चिरञ्जीवी अग्रवाल, दिनेश अग्रवाल, निशान्त श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठकालाई सम्मान गरियो । समारोहमा कोशी प्रदेशका सांसदद्वय रमेशकुमार बस्नेत, विजयकुमार राई, पोखरा महानगरपालिका मोतीलाल तिम्सिना लगायतले शुभकामना प्रकट गरेका थिए ।