धरान : नेपाली काँग्रेसले धरान शतवार्षिकीको २३ औँ वर्ष पुरा गरेका अवसरमा 'धरान उत्सव' आज शुक्रवार साँझ भानु चोकमा दीप प्रज्वलन गरी हर्षोल्लासका साथ मनाएको छ ।

धरान उत्सवलाई पूर्णता दिन विकसित शहरलाई अझ आधुनिक शहर निर्माण गर्न काँग्रेसले सार्वजनिक दीप प्रज्वलन गरी मनाएको काँग्रेस धरान नगर सभापति श्याम पोख्रेलले बताए ।

उनले भने ‘धराने जनता अन्य ठाउको भन्दा शिक्षित, सबल र सचेत रहेका छन् ।’ धराने जनता बिच कुनै मतभेद छैन भन्नका लागि पनि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पब्लिक हाई स्कुलमा भएको औपचारिक कार्यक्रम दलहरू किन उपस्थित भएनन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले धरान उपमहानगरपालिकाको नगर नेतृत्वले औपचारिक रूपमा कुनै पनि छलफल र सहकार्य नगरेको बताए ।

उनले भने ‘कुनै पनि दललाई नबोलाएको कारण औपचारिक कार्यक्रममा उपस्थित हुन पाएनन् ।’ तथापि धराने जनतालाई १२३औ धरान स्थापना दिवसको शुभकामना दिन भानुचोकमा कार्यक्रम गरेको सभापति पोख्रेलले बताए ।

कार्यक्रममा पूर्व मेयर तिलक राई धरान उत्सवमा नगर नेतृत्वले औपचारिक रूपमा निमन्त्रणा नगरेकाले धराने जनतालाई 'धरान डे' को शुभकामना दिन सडकमै भए पनि उपस्थित भएको बताए । उनले भने ‘धरान शहर मूर्तरूप दिन र धरान शहरलाई सौन्दर्यीकरण गर्दै सुन्दर, सफा शहर बनाउने कार्यमा सम्पूर्ण धराने जनताको अमूल्य योगदान रहेकाले धराने जनतालाई शुभकामना नदिई बस्न सकिन ।’

त्यसैले भानुचोकमा दीप प्रज्वलन गरी सम्पूर्ण धरानेलाई शुभकामना दिन उपस्थित भएको उनका भनाई थियो । धरानलाई आधुनिक शहर बनाउन यहाँका बहुसङ्ख्यक आदिवासी जनजाति र लाहुरेहरूले ठ्रलो योगदान रहेको उनले बताए ।

उनीहरूले निर्माण गरेको सहरमा धरानका राजनैतिक दलको समेत महत्त्वपूर्ण भूमिका रहेकोले राजनीतिक दल बिनाको धरान परिकल्पना गर्न नसकिने पूर्व मेयर राईले बताए । दीप प्रज्वलन कार्यक्रममा पूर्व सांसद मिना सुब्बा लगायत धरानका काँग्रेसका सबै नेता कार्यकर्ताको उपस्थिति थियो ।

congress-dharan-daycongress-dharan-day-3 1