• अनुसा थापा

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छ । विपक्षको दायित्व जनताको समस्या उठाउने, सरकारले गर्न थालेको कामहरू जनता र राष्ट्रको हित विपरीत भएमा खबरदार गर्ने हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार बनेको एक वर्षको अवधि कटिसकेको छ ।

यो अवधिमा सरकारले जम्मा एउटा मीटरब्याज सम्बन्धी विधेयक पारित गर्‍यो । यसले नै प्रचण्ड सरकार असफलताको बाटोमा हिँडेको पुष्टि गर्दछ । यता, मुलुक सङ्कटतर्फ गएको छ । हरेक क्षेत्रमा बेतिथि छ । आर्थिक मन्दीका कारण मुलुक शिथिल अवस्थामा छ । व्यापार-व्यवसाय सुस्ताएको छ ।

महँगीले आम सर्वसाधारणको ढाड सेकेको छ । बेरोजगारी प्रतिशत दिनप्रतिदिन बढिरहेको छ । नेपाल छोड्नेको लर्को दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । भ्रष्टाचारले मुलुकलाई थिलथिलो बनाएको छ । सरकारले लक्ष्यअनुरूप राजश्व उठाउन सकिरहेको छैन ।

सरकारी खर्च धान्न नसकेर विदेशीसामु हात फैलाउनुपर्ने अवस्था छ । विदेशी ऋण निरन्तर उकालो लागिरहेको छ । केही वर्षकै अवधिमा एक जना नेपालीको थाप्लोमा एक लाख रुपैयाँ विदेशी ऋण पुग्न थालिसकेको छ । देशमा विदेशीको नाङ्गो हस्तक्षेप बढेको छ । आम सर्वसाधारण जताततै ठगिएका छन्, लुटिएका छन् ।

सरकारी अड्डाहरू घुसको अखडा बनेको छ । सरकारी कर्मचारीहरू जनताको काम छोडेर विदेश सहरमा जानमै व्यस्त छन् । राज्यको ढुकुटी दोहन गर्ने कार्य व्यापक भइरहेको छ । यातायात क्षेत्रमा वर्षौँदेखि सिन्डिकेट छ । यातायात व्यवसायीहरूले बाटो कब्जा गरेर यात्रु लुटिरहेका छन् ।

तैपनि सरकार निरीह भएर हेरिरहेको छ । कालो र हरियो प्लेटको ट्याक्सी, फो-स्टक टेम्पो र ढुवानी गाडीको दर्ता दशकौँ देखि बन्द छ । नयाँ दर्ता नखोल्दा सिन्डिकेटधारीहरू मौलाएका छन् । २० वर्ष कटेका गाडीको स्क्रयाप गरेको नम्बर प्लेट खुलेआम बिक्री भइरहेको छ ।

यातायात व्यवस्था कार्यालयहरूमा ८० हजारदेखि एक लाख रुपैयाँसम्म नम्बर प्लेट बिक्री भई रहँदा समेत सरकार केही गर्न सक्दैन । सहकारीहरूले लाखौँ बचतकर्तालाई धरधरी रुवाएको छ । एकपछि अर्को गर्दै सबै सहकारी भागेका छन् । नभागेकाले पनि पैसा फिर्ता गर्न सकिरहेका छैनन् ।

एउटै व्यक्तिको करोडौँ रुपैयाँसम्म डुबेको खबरहरू बाहिरिइरहेका छन् । यद्यपि, सहकारीमा देखिएको समस्या समाधानमा सरकारलाई चासो छैन । सहकारीले पैसा खाइदिएर हार्ट अट्याक भएर मरेको, आत्महत्या गरेको खबरहरू आउँदासमेत सरकार नजरअन्दाज गरिरहेको छ ।

वर्षदिनमा एउटाबाट दुइटा विधेयक पारित गर्न सक्दैनन्, तर तलब भत्ता लिन र सरकारी गाडी चढ्नचाहिँ छोड्दैनन् । विपक्षी दल पनि त्यही नै हो । सङ्घदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले राज्यको ढुकुटी दोहन गरेका छन् । लगानी गरिएको गर्यै छ तर प्रतिफल छैन।

अहिले देशमा ‘मिसन ८४’ अभियान चलिरहेको छ । जुनसुकै पार्टी होस्, चुनाव जित्न र भ्रष्टाचार गर्नमै ध्याउन्न छ । रास्वपाका सभापति रवि लामिछाने २०८४ सालमा पहिलो पार्टी हुन्छौँ भनेर जोडतोडका साथ लागिपरेका छन् । हाल जनता कुन अवस्थाबाट गुज्रिरहेका छन् ? त्यो थाहा छैन ।

अर्को चुनावमा हामी पहिलो पार्टी हुन्छौँ भन्न यिनीहरूलाई लाज पनि नलाग्दो रहेछ ! राप्रपा राजतन्त्र र हिन्द राष्ट्रको नारा लगाएर हिँडिरहेको छ । जनताको समस्याबारे सरकारलाई घच्घचाउन छोडेर राजतन्त्रको एजेन्डा बोक्ने राप्रपा अर्को चुनावमा शून्य हुन्छ । एमाले अरूमाथि हिलो छ्याप्नमै व्यस्त छ ।

अहिले सर्वसाधारणलाई विपक्षीमा पनि कुनै दल छ र ? भनेर लाग्न थालिसकेको छ । सबै आ-आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन्, जनताको समस्या कसले हेर्ने ? विपक्षी र सत्ताधारी दुवै उस्तै छन् । देश धितो राख्ने, ऋण ल्याएर मोज मस्ती गर्ने । खर्बौँ रुपैयाँ विदेशी ऋण नेपाल सरकारले लिएको छ ।

राजश्वले सरकारको खर्च नधानेपछि धमाधम विदेशी ऋण लिने काम भइरहेको छ । सरकारी कर्मचारीलाई विदेशी ऋणबाटै तलब भत्ता खुवाइएको छ । राज्य सञ्चालक र जनप्रतिनिधिको हकमा पनि त्यही नै हो । भूपू राजा ज्ञानेन्द्रले केही दिनअघि एउटा कार्यक्रममा आफू यही भएको बताएका थिए ।

उनले भनेका थिए, ‘म यही छु । यहाँ के भइरहेको छ म नजिकबाट नियालिरहेको छु ।’ उनले जे भने पनि के फाइदा ? राजतन्त्र हटिसक्यो, उनको हातमा केही पनि छैन । निर्माताले चलचित्र बनाउँछन्, कलाकारले खेल्छन् र दर्शनले हेर्छन् । भूपू राजा ज्ञानेन्द्र अहिले दर्शक हुन् ।

उनले जहाँ गएर जे बोलेपनि नेताहरूले देश बेचेको हेर्नुबाहेक कुनै विकल्प छैन । अरूको सातो खाने लामिछानेको आफ्नै होस गुमेको छ । सहकारीको केसमा उनी जेल जान्छन् भनेर अड्कलबाजी लगाउन थालिएको छ । मनमोहन अधिकारी र मदन भण्डारीको नाम बेचेर देश लुट्ने ओली र महेश बस्नेतका लागि एउटा दुर्गा प्रसाईँ नै काफी भए ।

जनताको काम गर्न छोडेर राजाको झोले बनेको राजेन्द्र लिङ्देन र उनको पार्टीलाई जनताले पाठ सिकाउँछन् । बच्चादेखि भुरालाई थाहा छ कि देशमा राजा आउँदैनन्, राजतन्त्र फकिँदैन । यी पार्टीहरूले कहिलेसम्म जनताको आँखामा धुलो झोक्ने हुन् ? २०७२ को संविधानअनुसार लिङ्देनले चुनावमा भाग लिएका हुन् ।

उनले त लोकतन्त्र मानिसकेका छन् । राजा हटाउने प्रचण्डकै सरकारमा उनी मन्त्री भए । जनतालाई कतिसम्म ढाँट्न जानेको ? लोकतान्त्रिक व्यवस्थाअनुसार चुनाव लडेर राजाको गुनगान गाउन लिङ्देन र राप्रपालाई लाज लाग्नुपर्ने हो । आफू कहाँ उभिएका छौँ भन्ने कुरा नै यिनीहरूले बिर्सिएका छन् ।

विपक्षी दलमा रहेको एमालेले राष्ट्रिय सभामा समेत आफ्नो भाग खोजेको छ  । विपक्षीले कहीँ भाग खोज्छ ? वास्तवमा भन्ने हो भने ओलीसँग टेम्पो चलाएर खाने क्षमता पनि छैन । कुन पार्टीलाई राष्ट्रको कति माया रहेछ ? भन्ने त अहिलेको अवस्थाबाट प्रमाणित भइसकेको छ ।

देश नाजुक अवस्थाबाट गुज्रिरहेको छ तर विपक्षी दलका नेताले तलब भत्ता खान छोडेका छैनन् । ‘देश सकिए सकियोस्’ भनेर उनीहरू घोडा बेचेर सुतेका छन् । सांसद चित्रबहादुर केसी अनेक थरी ‘स्टन्टबाजी’ गर्छन् । सफा टेम्पो चढ्ने उनी माइक्रो बस चढ्दा घाइते समेत भए ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा आफ्नो छोराले सरकारी जागिरमा भनिदिनु भन्दा जे गरेर खान्छस् खाँ भनेको भनी अभिव्यक्ति दिएका उनलाई जनताले सच्चा नेता ठान्थे । घट्टेकुलोमा एउटै कोठामा २१ वर्ष बसेको विषयमा पनि व्यापक चर्चामा आयो । उमेरले ८२ वर्ष भइसकेका उनी अहिलेपनि देश धितो राखेर लिएको पैसाले तलब भत्ता लिइरहेका छन् ।

८२ वर्ष नेपाली भूमिमा बिताइसकेकोलाई त देशको माया भएन भने अरूको के कुरा गर्नु ? नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल सदनमा जुनसुकै विधेयक पेस भएपनि उभिएर विरोध गरिहाल्छन् । उनको पेसा नै विरोध गर्ने हो । तर, उनी पनि राज्यबाट पाउने एउटा सेवा सुविधा छोड्दैनन् ।

कसैले ऋण तिर्न सकेन भने प्रहरीले लगेर थुन्छ । राजनीतिक दलका नेता, सांसद सबैले मिलीजुली देश बेचिसकेका छन् । यिनीहरूलाई कसले समात्ने ? जनताले समात्न सक्दैनन्, प्रहरीले सलाम ठोक्छ । जनता कार्यकर्ता बन्दा देश तहसनहस बन्यो । आफ्नो पार्टीले जतिसुकै नराम्रो काम गरोस्, चुइँक्क आवाज निकाल्दैनन् ।

अभिभावकले छोराछोरी जन्माउँछन्, पाल्छन्, हुर्काउँछन् । पछि कतिपयले आफ्नै बाबुआमालाई मार्छन् । नेताहरूले पनि देश र जनताका लागि काम गर्छौ भनेर पार्टी खोले । अहिले देश नै बेचिदिए ।