विराटनगर : साहित्यकार ज्येष्ठ नागरिक हरिप्रसाद निम्सिनालाई प्रजातन्त्र दिवसका अवसरमा सम्मान गरिएको छ ।

विराटनगर-११ अलका टोल समितिद्वारा अग्रज साहित्यकार तिम्सिनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो ।

प्रमुख अतिथि वडा ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र टोल समिति अध्यक्ष यादनरसिंह कार्कीले तिम्सिनालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

नेउपानेले २००७ सालको जनक्रान्तिको जगमा उभिएर आएको अहिलेको सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई कसैले पनि मेट्न नसक्ने बताए ।

समाजसेवी चिरञ्जीवी दाहाल, अर्जुन भट्टराई, ललित श्रेष्ठ, कृष्णकुमारी थापा, ध्रुव चौहान लगायतले शुभकामना दिए ।

कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, मोहनकुमार ताम्राकारले प्रजातन्त्रसँग सम्बन्धित सिर्जना वाचन गरेका थिए । पदमकुमार श्रेष्ठ र ललित श्रेष्ठलाई ज्येष्ठ नागरिक सल्लाहकारको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।