इटहरी : सुनसरीको इटहरीमा शुक्रवार देखि सुरु हुने भनिएको प्रथम जुत्ता-चप्पल व्यापार महोत्सवमा स्थानीय उद्योगी व्यवसायीले विरोध जनाएका छन् । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा स्थानीय व्यापारीले असन्तुष्टि जनाएका हुन् ।

स्थानीय व्यवसायीसँग कुनै छलफल र सहकार्य विना महोत्सव आयोजना गर्न लागिएको भन्दै विरोध जनाएका छन् । महोत्सवको कारण स्थानीय बजारमा असर पर्ने भन्दै उनीहरूले महोत्सव उद्घाटन गर्न दिने तर व्यापार गर्न नदिने बताएका हुन् ।

महोत्सव उद्घाटन गर्न पाउने तर व्यापार गर्न नपाउने भन्दै स्थानीय व्यापारीले अडान लिएका छन् । उद्योग वाणिज्य सङ्घ इटहरीको भवनमा भएको छलफलमा शुक्रवार दिउँसो ठोस सहमति हुन सकेन । महोत्सवमा आयोजकले व्यापार नभए महोत्सवको औचित्य नहुने भन्दै लचकता अपनाउन आग्रह गरेको छ ।

स्थानीय व्यापारी दिनेश धमलाले शुक्रवार बिहान देखिनै ग्राहकले महोत्सवमा गएर चप्पल जुत्ता किन्ने भन्न थालेको बताए । मौसम परिवर्तनको सुरुवातमै महोत्सव लागेपछि गर्मीका जुत्ता र चप्पलको व्यापारका भारी असर पुग्ने उनको भनाइ छ ।

सुनाइटेड लेदर सुजका सञ्चालक सरोज कार्की महोत्सवले व्यापार चौपट हुने धारणा राखे । स्थानीय व्यापारमा धेरै असर पुर्‍याउने भन्दै उनले आफूहरू महोत्सवको विरोधमा उत्रिएको उनको भनाइ छ ।

फागुन ११ गते देखि चैत १५ गतेसम्म (३५) दिन इटहरीको पश्चिम लाइनमा महोत्सव चल्ने कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । उनका अनुसार स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने मुख्य उद्देश्य मुख्य राखिएको महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने छ ।

२० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिने भएको हो । महोत्सवमा रोयल सुज, बीएफ डियर हिल सुज, क्रशरोड सुज, फस्ट वाक सुज र डिजे सुज उपलब्ध रहेको उपाध्यायको भनाइ छ । महोत्सव अवधिभरमा करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।