धरान : कोशी प्रदेशमा सडकको राजनीतिबाट वार्ताको टेबुलमा पुगेको ‘कोशी’ खारेजी र पुन:नामकरण आन्दोलनको प्रमुख घटक किरात याकथुङ चुम्लुङको २ दिने राष्ट्रिय भेला भोली बिहीबार देखी इलाम बजारमा हुँदै छ ।

एक वर्ष लामो आन्दोलन प्रदेशको राजनीतिक परिदृश्य बदलिएसँगै दोस्रो पटक वार्ताको टेबुलमा हो । वार्ता सकारात्मक रूपमा अघि बढेको बेला राष्ट्रिय राजनीति भने बदलिएको छ । त्यसको प्रभाव प्रदेशको राजनीतिमा पर्‍यो भने वार्तामा पनि प्रभावित हुन सक्छ ।

आन्दोलनको प्रमुख घटक चुम्लुङको राष्ट्रिय भेलामा वार्तामा मुख्य रूपमा उठेको साझा पहिचानको नामका बारेमा छलफल हुनेछ । राष्ट्रिय चुम्लुङको पूर्व सन्ध्या इलाममा गरिएको पत्रकार सम्मेलनमा महासचिव निरन्ती तुम्बापोले ‘लिम्बुवान, किरात’ चुम्लुङको बटम लाइन रहेको बताइन् ।

राष्ट्रिय राजनीतिले प्रदेशमा राजनीतिक बदलाव आएका वार्ता भङ्ग भएको अवस्थामा पुनः आन्दोलनको तयारीका साथै ‘मुक्कुमलुङ बचाउ आन्दोलन’को भावी योजनामा समेत छलफल हुने महासचिव तुम्बापोले बताइन् ।

ताप्लेजुङको पाथीभरा मुक्कुमलुङमा निर्माण गर्न लागेको केबलकारको योजनाले लिम्बु समुदायको ऐतिहासिक धार्मिक मुन्धुमी स्थलको प्रकृति विनाश गर्ने भएकोले योजनाको विरोधमा चुम्लुङ आन्दोलनमा सक्रिय हुँदै आएको छ ।

यसै बिच इलाम-२ मा हुन गइरहेको उपनिर्वाचनमा पहिचानवादीको साझा उम्मेदवार उठाउने बहस चलेको बेला चुम्लुङको राष्ट्रिय भेला पनि इलाममा हुँदै छ । साझा उम्मेदवारको रूपमा चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको नाम पनि चर्चामा छ । भेलालाई चुनावी छलफलले पनि तताउने सम्भावना छ ।

चुनावी उम्मेदवारीका दाबेदार अगुवा लिम्बुहरू अहिले इलाममा केन्द्रित भएका छन् । दुई दिने भेलाकै बिच हुने ‘आदिवासी याकथुङ लिम्बु सांस्कृतिक महोत्सव’मा लिम्बु समुदायका धेरै अगुवाहरूको जमघटमा लिम्बुवानको राजनीतिक, सांस्कृतिक आन्दोलन बारे वृहत् छलफल हुने देखिएको छ ।

महासचिव निरन्ती तुम्बापोले भनिन्, ‘इलामका सहिद विजयबहादुर लिम्बु सहित याकथुङ लिम्बु भाषिक आन्दोलनका अभियन्ता आसाहाङ मादेन लगायत आन्दोलनको इतिहासका पात्रहरूको योगदानको बारेमा चर्चा हुनेछ ।’ समग्रमा राष्ट्रिय चुम्लुङ र त्यसले गर्ने निर्णयहरू लिम्बुवान आन्दोलनका लागि दुरागामी महत्वको हुने उनले बताइन् ।

kirat yakthung ilam ma patrakar sammelan