धरान : नेपाल विद्यार्थी सङ्घ सङ्घर्ष समितिले सुनसरी जिल्ला समिति र क्याम्पस इकाईको अधिवेशन गर्नुपर्ने माग गर्दै अल्टिमेटम दिएका छन् । नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीलाई ७ दिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका हुन् ।

सङ्घर्ष समिति संयोजक रुपेश कटवाल र सहसंयोजक विज्ञान साँवा लिम्बुले हस्ताक्षर गरेको पत्रमा जिल्लामा विवाद समाधानमा समन्वय गरिदिन माग गरिएको छ ।

यही असार २४ गते सोमबार हात्तीसार क्याम्पसको सभाहलमा बसेको बैठकबाट जिल्ला कार्य समितिद्वारा गरिएको मनोमानी प्रवृत्ति प्रति असन्तुष्ट जनाएर सङ्घर्ष समिति गठन भएको जनाइएको छ। सो समितिले काँग्रेस जिल्ला सभापतिलाई नेबिसंघ जिल्ला समिति भङ्ग गर्न माग गरेको छ ।

उता जिल्ला सभापति प्रमोद भट्टराईले आफूलाई यस विषयमा जानकारी नरहेको प्रतिक्रिया दिए । तत्काल नेबिसंघ सुनसरी अत्यन्तै सक्रिय र गतिशील भएर सङ्गठन मजबुत बनाउन लागेको उनको भनाइ छ ।

लोकतान्त्रिक सङ्गठनमा देखिएका सामान्य असन्तुष्टिहरू संवाद द्वारा हल गर्न सकिने उनको तर्क छ । इकाई समिति देखिनै अधिवेशनको प्रक्रिया सुरु गरेको बताउँदै उनले अहिले राजनीतिको लागी विषम परिस्थिति भएकाले संयतता अपनाउन आग्रह गरे ।NSU-PR-kapuri2