इटहरी : बुधवार दिउँसो इटहरीको सङ्गीत चोकमा एक जना युवक माथि लखेटेर खुकुरी प्रहार गरेको छ । चिया पसलमा बसिरहेका बेला बाइकमा आएको समूहले प्रवेश बुढाथोकीलाई खेदाएर खुकुरी प्रहार गरेको हो ।

घटनामा संलग्न पाँच जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेर म्याद थपको प्रक्रिया अगाडि बढाइ सकेको छ । प्रहरी प्रमुख टेकबहादुर कार्कीका अनुसार पाँच जनालाई भाग्ने क्रममा विराटनगरको बरगाछीबाट पक्राउ गरिएको हो । के कारण घटना घटेको भन्नेबारे यकिन नभएको उनले बताए ।

यस अगाडि प्रवेशको समूहले सङ्गीत चोकमै अर्को समूह माथि आक्रमण गरेको थियो । इँटा र काठका सामग्रीबाट आक्रमण गरेको प्रवेशको समूह सँग बदला लिन खुकुरी प्रहार भएको हुनसक्ने आकलन गरिएको छ । सङ्गीत चोकमा आक्रमणमा परेपछि राती प्रवेशको घरमा तोडफोड भएको थियो ।

खुकुरी प्रहारबाट घाइते भएका इटहरी १६ का बुढाथोकीको हात र टाउकोमा चोट लागेको छ । उनको इटहरीको वेदान्त अस्पतालमा उपचार भइरहेको छ।