रामपुर : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उदयपुरको वेलका नगरपालिका वडा नं.९ मा मङ्सिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा स्वर्गीय वडाध्यक्ष पदम खड्काको सम्मानका लागि नेपाली काँग्रेसकालाई विजय गराउने पर्ने बताएका छन् । 
आइतबार दिउसो रामपुर स्थित नेपाली काँग्रेस वडा नं. ९ कार्य समितिले आयोजना गरेको चुनावी सभा तथा स्वर्गीय खड्काको तस्बिरमा माल्यार्पण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भने-'स्वर्गीय वडाध्यक्ष खड्काले अगाडि बढाएका योजना पूरा गर्नेका लागि नेपाली काँग्रेसले  वडामा इमानदार छवि बनाएका नवराज बस्नेत (नवीन) लाई उम्मेदवारको रूपमा प्रस्तुत गरेका छौ ।' 
स्वर्गीय खड्काको आत्माको शान्ति र सम्मानकालागी काँग्रेसलाई मतदान गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो । उनले भने- 'स्वर्गीय वडाध्यक्ष पदम खड्का नेपाली काँग्रेसका सिपाही हुनुहुन्थ्यो, खानेपानी योजनाको लागि काम गर्न इटहरी जाँदा सडक दुर्घटनाका कारण उहाँको मृत्यु भएको थियो । त्यसकारण उहाँको योगदान, सम्मानकालागि काँग्रेसलाई जिताउनु वडावासीको दायित्व पनि हो ।' 
फरक प्रसङ्गमा उनले वर्तमान नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्व सरकार देश विकाशसँगै जनतालाई आशक्तता पूरा गर्न निर्माण भएको बताए । यो सरकारको गल्ती गर्ने छुट नभएको जिकिर गर्दै उनले भन्ने काङ्ग्रेस र एमाले दुई ठुला दल एक अर्काको प्रतिस्पर्धी भए पनि वर्तमान सरकारलाई सफल बनाउने दायित्व काङ्ग्रेसको पनि भएको बताए । यसकालागि सदन, सभा सम्मेलन मिडियाबाट खबरदारी गरीरहने बताए ।
सभामा नेपाली काँग्रेस उदयपुर क्षेत्र नं.१ सभापति खगेन्द्र राई, काँग्रेस नेता सुशील सेढाई, नगर सभापति तथा मेयर अशोक कार्की, वडा अध्यक्षको उम्मेदवार नवराज बस्नेत (नवीन) ले बोलेका थिए । सभामा उदयपुर काँग्रेसका पूर्व सभापति विदुर बस्नेत, प्रदेश सदस्य लवराज अधिकारी, स्वर्गीय वडाध्यक्ष पदम खड्काका बुबा रङ्गबहादुर खड्का लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । महामन्त्री शर्मा रामपुर बजारमा भोट माग्न घदैलौमा उम्मेदवार सहित सहभागी समेत भएका थिए ।
उदयपुरको वेलका नगरपालिका वडा नं.९ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले वडामा इमानदार छवि बनाएका नवराज बस्नेत (नवीन) लाई, नेकपा एमालेले स्वर्गीय खड्काको आफ्नै सहोदर भाइ मोहन खड्का र नेकपा माओवादीले विद्यार्थी नेता भरत घिमिरेलाई प्रस्तुत गरे पछि चुनावी माहौल थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ । 
वेलका नगरपालिका वडा नं.९ मा वडाध्यक्ष पदम खड्काको मोटर दुर्घटनाबाट मृत्यु भएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट खड्का निर्वाचित भएका थिए ।