धरान : प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणको कार्यक्रम सुनिश्चित गर्न परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भोली बिहीबार चीन प्रस्थान गर्ने भएकी छन् ।

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमका लागि मङ्सिर १७ गते बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले ४ दिन चीनमा बिताएर मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रको श्रोत उल्लेख गर्दै मिडियामा आएको छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग १८ मंसिरमा भेटवार्ता गर्ने छन् । बेइजिङ पुगेको भोलिपल्टै चिनियाँ राष्ट्रपति लगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ ।

यसअघि चीनले मङ्सिर १७ देखी २१ को भ्रमण मिति प्रस्ताव गरेको थियो । दुवै पक्षको गृहकार्यपछि मङ्सिर १७ देखी २० मङ्सिर सम्मको भ्रमण हुने टुङ्गो लागेको हो ।

बेइजिङमा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चस्तरीय भेटवार्ता पछि मङ्सिर १९ गते नेपाल उद्योग वाणिज्य महासङ्घ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्र रूपमा चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन । सम्भवतः मङ्सिर १४ गते बेइजिङ र काठमाडौँबाट एकसाथ भ्रमणको घोषणा हुनेछ ।