विराटनगर : कोशी प्रदेशको समृद्धिका लागि आयोजना गरिने लगानी सम्मेलन प्रदेश सरकारले आयोजना गर्ने तय भएकोले कुनै सङ्घसंस्थाले होइन प्रदेश सरकारले नै गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

सम्मेलनबारे बाहिर चर्चा गरिए जस्तो कुनै विवाद नरहेको मुख्यमन्त्रीले स्पष्ट गरेका छन् । प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा बिहीबार उनले भने ‘बाहिर चर्चा गरेजस्तो सम्मेलनबारे विवाद छैन ।’

यस अघि विभिन्न संस्थाले लगानी सम्मेलन गर्ने प्रचार गरिएपछि मुख्यमन्त्री कार्कीले समितिको बैठकलाई स्पष्ट गर्दै कुनै विवाद नरहेको दाबी गरेका हुन । उनले निजी क्षेत्रको सहकार्यमा साझा लगानी सम्मेलन गर्न लागिएको बताए ।

मुख्यमन्त्री कार्कीले भने ‘कुनै एउटा सङ्गठनको ब्यानरमा नभएर सम्मेलन सरकारले गर्ने हो ।’ तयारी पूरा भएपछि एउटा ‘ग्राण्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने उनले बताए ।

उनले भने ‘सरकार मूल आयोजक हुन्छ, पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ ।’ मुख्यमन्त्री कार्कीले सम्मेलनमा मलेसियाका पूर्व अर्थमन्त्री आउने प्रतिबद्धता प्राप्त भएको बताए । विश्व बैङ्कका पूर्व सिइओ पनि आउने सम्भावना छ । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुनेछन् ।

सम्मेलनका लागि ३ करोड ३० लाख रुपैयाँ विनियोजन भएको मुख्यमन्त्री कार्कीले जनाकारी दिए । बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले स्पष्ट गरे ।

मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर प्रदेश सरकार अघि बढिरहेको बताए ।

लगानी सम्मेलन बारेमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालासँग छलफल गरेको हो ।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

लगानी बोर्डका सिइओ सरोज कोइरालाले बजेट लगानी बोर्डको खातामा पठाइएको जानकारी दिदैं प्रक्रिया अघि बढाउने बताए । उनका अनुसार सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको गरिएको छ ।