झापा : विगत ९ वर्षदेखि खण्डहरमा परिणत भएको झापाको भद्रपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन) लागूऔषध र मादक पदार्थ सेवनको अखडा, डेटिङसँगै अनैतिक क्रियाकलाप गर्ने स्थलमा परिणत भएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको भवन निर्माण हुने या नहुने भन्नेमा अझै पनि अन्योल नै छ ।

भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशाला छेउमै निर्माणाधीन जीपी भवनको २०७२ साल असार २८ गतेका दिन तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको नेतृत्वमा वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रियसभा सदस्य तथा तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले एक भव्य समारोहका बिच संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

चारै दलका शीर्ष नेताहरू एकसाथ जीपी भवनको शिलान्यास गरेकोले तोकिएको समयमै भवन बन्ने जनविश्वास थियो । विडम्बना त्यो जनविश्वास नभई शीर्ष नेताहरूबाटै जनघात भएको नगरवासीको ठम्याइ छ । अहिले सो अलपत्र तथा जीर्ण भवनमा लागूऔषध र मादक पदार्थ सेवनको अखडा, डेटिङसँगै अनैतिक क्रियाकलाप गर्ने स्थलमा परिणत भएको स्थानीय रोशन भट्टराई बताउँछन् ।

निर्माण कम्पनीले तीन तलाको फाउन्डेसन उठाएर अलपत्र अवस्थामा छाडिदिएको छ । जीपी भवन बनाउन निवर्तमान जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल र निवर्तमान भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रयास पनि असफल भएको थियो । अहिले जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अहिलेसम्मको प्रयास पनि असफल देखिएको छ ।

सदरमुकामलाई गिज्याइरहेको अलपत्र जीपी भवनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पटक-पटक विषयवस्तुको बारेमा जानकारी गराएको बताउँदै जिल्ला समन्वय समिति प्रमुख बरालले कसैले वास्तै नगरिदिँदा समस्या उत्पन्न भएको बताए ।

भवनको काम ४८ प्रतिशत मात्र भएको कागजमा भनिएको छ । अहिलेसम्म निर्माण कम्पनीले ९ करोड ९६ लाख रुपैयाँ लगिसकेको छ । अहिले जिससको खातामा साढे ३ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात छ । स्थानीयवासी समेत रहेका झापा भद्रपुरका सञ्चारकर्मी गोपाल गिरी यस भवन निर्माणका लागि स्थानीयले नै अगुवाइ गर्नुपर्ने सुझाव दिन्छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति झापा (हालको जिल्ला समन्वय समिति) को रेखदेखमा जीपी भवन बन्न सुरु भएको थियो । प्रेरा-शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँको लागतमा सो भवन निर्माणको ठेक्का लिएको थियो ।दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो। निर्माणाधीन भवनको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ ।

सो भवनको पहिलो तल्लामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तल्लामा दुई वा तीन वटा बैङ्क अटाउने फ्ल्याट र तेस्रो तल्लामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभा हल बनाइने गरी भवनको काम थालिएको थियो । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएका छन् ।

GB-bhawan-1