धरान : महेन्द्र बहुमुखी क्याम्पसको स्वबियुको आर्थिक पारदर्शीताका ५ बुँदे माग राखेर ४ विद्यार्थी सङ्गठनका नेताहरू मङ्गलवार दिउँसो ३ बजे देखी आमरण अनशनमा बसेका छन् । विद्यार्थी सङ्गठनहरूले स्ववियुमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।
विद्यार्थी सङ्गठनहरूले स्ववियुको साधारण सभामा पेस गरिएको आर्थिक प्रतिवेदनका शीर्षकहरूमा देखाइएको खर्च रकम पारदर्शी नभएकोले बिल र बैङ्क स्टेटमेन्ट देखाउन माग गरेका छन् ।

अनशनमा बसेका विद्यार्थी नेताहरूमा नेविसंघ क्याम्पस इकाई सभापति विनोद आले मगर, अनेरास्ववियु अध्यक्ष सविन श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष विपिन लिम्बु, समाजवादी विद्यार्थी युनियन नेपाल अध्यक्ष सेविरसिं याक्सो लिम्बु छन् ।
सङ्गठनहरूले स्ववियुले आर्थिक पारदर्शिताप्रति जबाफदेही नभए सम्म कुनै पनि गतिविधि गर्न नपाउने, आर्थिक अनियमितताका कारण तत्कालका लागि क्याम्पस प्रशासनले स्ववियुको खातामा रकम हस्तान्तरण गर्न नहुने माग राखेका छन् ।
साथै स्नातकोत्तर तहका विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्न सुरु गर्नु पर्ने, स्नातक तह शिक्षा शास्त्र सङ्काय बिएडका विद्यार्थीहरूलाई बिबिस र बिए सो सरह २० प्रतिशत छात्रवृत्ति व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।
स्ववियुले कार्यकालमा प्रत्येक विद्यार्थीबाट लिने गरेको स्ववियु शुल्क १०० बाट वृद्धि गरी ५०० रुपैयाँ पुर्याएको उक्त बढाइएको शुल्क तत्काल घटाएर यस आर्थिक वर्षमा विद्यार्थीहरूबाट लिइएको अधिक रकम तत्काल विद्यार्थीहरूलाई फिर्ता गर्नुपर्ने माग पनि गरेका छन् । माग पुरा नभए सम्म आमरण अनसन बस्ने नेविसंघका सभापति आले मगरले बताए ।
उनले भने ‘आमरण अनसनलाई साथीहरूले खेलाँची नसोचे हुन्छ ।’ उनले स्ववियुको रकम बैङ्क स्टेटमेन्टबाट पारदर्शी नगरेको अवस्थामा पनि क्याम्पसले रकम ट्रान्सफर गरे आन्दोलनको स्वरूप अझ कडा हुने बताए ।
उनले भने ‘क्याम्पस प्रशासनलाई पटक पटक जानकारी गराएको तर क्याम्पस प्रमुख चन्द्रप्रसाद राईले सगठनको मागलाई बेवास्ता गर्दै आएका छन् ।’ विद्यार्थी सङ्गठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गदै महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्वतन्त्र विद्यार्थी युनियनले गत पुस २३ देखी २५ गते सम्म भएको साधारण सभामा पेस गरेको आर्थिक प्रतिवेदनको विभिन्न शीर्षकमा देखाइएको खर्चको रकम साधारण, पारदर्शी र विश्वासिलो नभएको बताएको छ ।
विद्यार्थी सङ्गठनहरूले माघ २ गते खर्चको बिल र बैङ्क स्टेटमेन्ट देखाउन माग गर्दै स्ववियु र क्याम्पस प्रशासनलाई प्रेस विज्ञप्ति बुझाएपछि स्ववियुले अटेर गर्दै माघ २७ गते दिएको बैङ्क स्टेटमेन्टमा सबै कारोबारहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको पाइएको विज्ञप्तिमा दाबी गरेको छ ।