धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियुले १० दिन भित्र आर्थिक कारोबार पारदर्शी बनाउने ५ बुँदे शर्तमा २८ घण्टापछि विद्यार्थी नेताहरूको आमरण अनसन तोडिएको छ ।

स्ववियुले क्याम्पस प्रमुखको रोहबरमा समिति बनाएर १० दिन भित्र आर्थिक कारोबार पारदर्शी बनाउने सहमति गर्दै ४ विद्यार्थी सङ्गठनका नेताहरूको अनसन बुधवार राती ८ बजे तोडाइएको हो ।

नेविसंघ सभापति विनोद आले मगर, अनेरास्ववियु अध्यक्ष सविन श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष विपिन लिम्बु, समाजवादी विद्यार्थी अध्यक्ष सविरसिंह याक्सो लिम्बूले ५ बुँदे माग सहित मंगलबार ३ बजे क्याम्पस  प्रशासन परिसरमा आमरण अनशन बसेका थिए ।

उनीहरूलाई स्वबियु सभापति युवराज राई र क्याम्पस प्रमुख चन्द्र कुमार राईले जुस खुवाएर अनसन तोडाए । अनसनकारीहरू सँग भएको ५ बुँदे सहमतिमा स्ववियु शुल्क ५०० बाट घटाएर २०० बनाउने सहमति भएको छ ।

स्नातकोत्तरमा १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । बिएडका विद्यार्थीलाई बिबिएस र बिएका विद्यार्थीलाई सोसरह २० प्रतिशत निःशुल्क छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी कल्याण कोष प्रयोग गरिने छ ।

बिएडलाई नियमित कार्यक्रम बनाउन पहल गर्ने सहमति भएको वार्ता टोलीका प्रतिनिधि आलोक लिम्बुले जानकारी दिए । अनसनको क्रममा स्वास्थ्यमा समस्या आएपछि अनेरास्ववियु अध्यक्ष सविन श्रेष्ठ र समाजवादी अध्यक्ष सविरसिंह याक्सो लिम्बूलाई बिपी प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।