धरान : लिम्बूहरूको साझा संस्था किराँत याक्थुङ चुम्लुङको कार्यालय रहेको भवन 'चुम्लुङ हिम'मा रहेका मुक्कुमलुङ आन्दोलनकारीहरूलाई प्रहरीले बन्धक बनाएको छ ।
शनिवार दिउँसो २ बजे चुम्लुङ हिमको कार्यक्रममा पुगेका आन्दोलनकारीलाई समात्न चुम्लुङ हिममा प्रहरी प्रवेश गरेको आन्दोलनकारी विष्णु थाम्देनले जानकारी दिए ।
उनले चुम्लुङमा प्रहरी आएको भन्ने थाहा पाएपश्चात् आन्दोलनकारी चुम्लुङको एक कोठामा लुकेको थाहा पाएपश्चात् सादा पोशाकमा पुगेका प्रहरीले चुम्लुङ भवन घेरा हाल्दै आफूहरूलाई नजरबन्दमा राखेको बताए ।
उनले भने 'चुम्लुङ हाम्रो साझा घर हो, चुम्लुङमा बिना इजाजत प्रहरी आएर दमन गर्नु हामीलाई सह्य हुँदैन, अव हामी विद्रोह गर्छौ ।’ यो राजनैतिक आन्दोलन सहितको सांस्कृतिक आन्दोलन हो । हाम्रो भूमिमा र हाम्रो मुक्कुमलुङ आस्था हो ।
'धार्मिक आस्था रहेको ठाउँ मासेर केबलकार बनाउन हुँदैन भनेर विगत १ वर्ष देखि आन्दोलनरत रहेका बेला केबलकार बनाउनै पर्छ भन्दै लिम्बू-लिम्बू बिच फुट गराउन खोज्न र सामाजिक सञ्जालमा हामी आन्दोलनकारीलाई मनपरी लेख्ने ताप्लेजुङका पदम धरान चेन्जी मावो धरान आएको थाहा पाए पश्चात् धराने नागरिकहरूले आफ्नो समुदाय भड्काएको भन्दै सामाजिक बहिस्कार गर्दै कालो मोसो दलेका हौँ । तर राज्यले जबरजस्ती दमन गर्न खोज्दै छ । राज्य लागेर प्रहरी लगाएर जबरजस्त ढङ्गबाट माबोलाई मुद्दा हाल्न लगाउँदै हामीलाई पक्राउ गर्न खोज्दै बन्धक बनाएको छ । सादा पोसाकमा सहित व्यापक मात्रामा प्रहरी खटाएको छ र चुम्लुङ हिम घेरा हालेको छ । २४ घण्टा हुन् लाग्यो हामीलाई बन्धक बनाएको छ । रातको ११ बजे जबरजस्त प्रहरीले ढोका खोल्न लगाएको छ, हामीलाई अशान्त बनाएको छ, मानवअधिकार हनन गरेको छ । यसको हामी प्रतिकार गर्दै राजनैतिक रूपमा विद्रोह गर्ने योजना बनाउँदै पनि छ, चाडै विद्रोह सार्वजनिक गर्छौ । हामी राजनैतिक दल घटक पनि छौँ । अहिले नजरबन्दमा हामी ६ जना छौँ । हाम्रो जातीय सङ्गठन चुम्लुङ पनि आन्दोलनमै छ'- थाम्देनले भने ।
थाम्देन जनमुक्ति पार्टीका केन्द्रीय महासचिव र चुम्लुङका सदस्य समेत हुन । हाल बन्धक भएर जनमुक्ति पार्टीका विष्णु थाम्देन, शिवहाङ राई, पहिचानवादी मोर्चाका जेन्टल लावती, नेकपा माओवादी विप्लव समूहका सुनिता किराँती, गजेन्द्र लिम्बु र सङ्घीय लोकतान्त्रिक पार्टी लिम्बुवानका कार्यकर्ता रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले ताप्लेजुङका मावोले अपराधीक उपद्रवमा किटानी जाहेरी दिएका आधारमा सोधपुछका लागि गएको बताएको छ । 'प्रहरी जहिले कानुन सम्मत कार्य मात्र गर्दछ । आन्दोलनकारीलाई कोठाबाट बाहिर निस्कन आग्रह गरेका थियौँ, सामाजिक सञ्जालमा लाइभ गर्दै राज्यले हाम्रो धर्मको आस्थाको केन्द्र मास्न प्रहरी तैनाथ गरेको छ भन्दै दुष्प्रचार गरेपछि हामी पछि हट्दै चुम्लुङबाट बाहिरिएका छौँ । चुम्लुङ घेरा हालेका छैनौ '
चुम्लुङ सुनसरी अध्यक्ष मोहन हुक्पा चोङवाङले हाम्रो धार्मिक आस्था मुक्कुमलुङ ताप्लेजुङलाई मास्दै केबलकार बनाउन खोजेपछि चुम्लुङकै अगुवाइ र नेतृत्वमा धरानमा आन्दोलन अगाडी बढेको बताए । तर हिजोको आन्दोलनको घटना आफूलाई थाहा नभएको बताए ।
उनले चुम्लुङमा वैज्ञानिक महावीर पुनलाई सम्मान गर्ने कार्यक्रम रहेकाले आफू व्यस्त भएको भन्दै उनले भने आन्दोलनकारी चुम्लुङ हिम भित्र पसेर बसेको समेत आफूलाई थाहा नभएको बताए ।
उनले एक्कासि रातको साढे११ बजे आन्दोलनकारी साथीहरूले हामी चुम्लुङमा छौ, प्रहरीले चुम्लुङ घेरा हालेको छ भन्दा मात्रै थाहा भएको बताए । 'प्रहरीले एक्कासि संस्थालाई थाहा नै नदिई चुम्लुङ घेरा हाल्नु हाम्रो लागि आपत्तिको विषय हो । चुम्लुङ विधान अनुसार अगाडी बढ्छ, के गर्ने कस्तो प्रक्रिया अपनाउने छलफल र सल्लाह हुदैछ । छलफलले निर्णय गरेको कुरा अनुसार चुम्लुङ कानुन सम्मत अगाडी बढ्छ' अध्यक्ष चोङवाङले भने ।