धरान : राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहीबार होली पर्वको शुभकामना सन्देश दिँदै होली पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ ‘जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बिचको एकता कायम गर्न होली पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले होली पर्वले समस्त नेपालीहरू बिच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको सन्देशमा उल्लेख छ ।