धरान : नेकपा एमाले जिल्ला कमिटी सुनसरीले धरानका १० जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । 

एमाले प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की सहित १० नेतालाई जिल्ला कमिटी सुनसरीले कारबाही गरेको हो । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको निर्णय विरुद्ध गतिविधिमा लागेको भन्दै कारबाही गरिएको एमालेले जनाएको छ । 
एमाले पार्टीको विधानको धारा ८० उपधारा ६ र धारा ८१ को उपधारा १ र २ बमोजिम कारबाही गरिएको जिल्ला अध्यक्ष रेवती रमणभण्डारीले उल्लेख गरेका छन् । धरान उपमहानगर कमिटीलाई कारबाहीको पत्र पठाउँदै भण्डारीले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका हुन् ।
कारबाही पर्नेमा प्रदेश सदस्य कार्की, उद्धव श्रेष्ठ, नारायण भट्टराई, खगेन्द्र मेन्याङबो, हरिहर प्यारा श्रेष्ठ, घनश्याम तिम्सिना, हरि तामाङ, ठाकुर बहादुर कार्की, राजकुमार राई र पहलमान बस्नेत रहेका छन् । 
नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी सँग गठबन्धन गरेपछि रुष्ट रहेका नेताहरू स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका छन् । जसपाका उम्मेदवार अशोक राईलाई सघाउन नसकिने भन्दै एमाले नेता तथा पूर्व मेयर मनोज मेन्याङबोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
पार्टी निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै मेन्याङबोका समर्थकलाई एमाले पार्टीले कारबाही गरेको हो । मेन्याङबो खरायो चुनाव चिन्ह सहित चुनावी मैदानमा छन् ।
UML-Dharan-Karbahi