— दोहोरिने गुरागाईँको दाउ
— वरिष्ठ उपाध्यक्षको अध्यक्षमा होला त ईन्ट्रि ?
— चम्लगाईलाई चाहन्छन् त व्यवसायी ?
झापा : दमक उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनले यति बेला दमकको व्यावसायिक तथा राजनीतिक माहोल तातिएको छ । बजार, चोक देखी चिया पसलसम्म चुनावी चर्चा बाक्लिँदै गएको छ ।
अध्यक्षसहित कार्यसमितिका पदका लागि उम्मेदवारहरू आ–आफ्ना प्यानल लिएर व्यवसायीको ढोका–ढोका धाइरहेका छन् । भोट माग्ने क्रमसँगै दमकको व्यावसायिक भविष्य कस्तो हुने ?
सङ्घले अब कसको नेतृत्वमा कुन दिशा समाउने ? भन्ने बहस पनि चुलिँदै गएको छ ।
यस पटकको निर्वाचनमा विगतभन्दा फरक माहोल देखिएको व्यवसायीहरू बताउँछन् । केवल चिनजान, गुट–उपगुट वा व्यक्तिगत सम्बन्धका आधारमा नभई व्यवसायीका वास्तविक समस्या बुझ्ने, समाधान गर्न सक्ने र दमकको व्यापार–उद्योगलाई नयाँ उचाइमा पुर्याउन सक्ने नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ ।
बजार सुस्तता, कर प्रणालीको जटिलता, स्थानीय तहसँगको समन्वय अभाव, सीमा नाकासँग जोडिएका व्यापारिक चुनौती र लगानीमैत्री वातावरणको कमी जस्ता विषयहरू अहिले व्यवसायीको मुख्य चिन्ता बनेका छन् । झापा दमकका फर्निचर व्यवसायी गङ्गा प्रसाद शर्मा बोल्ने भन्दा पनि काम गर्नेले वाणिज्य सङ्घ दमकको नेतृत्व सम्हालोस् भन्ने आफूहरूले चाहेको बताए ।
उम्मेदवारहरू भने यिनै मुद्दालाई आफ्नो चुनावी एजेन्डा बनाउँदै मैदानमा उत्रिएका छन् । कतिपय प्यानलले दमकलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने, नयाँ लगानी भित्र्याउने र साना तथा मझौला व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । अर्कोतर्फ केही उम्मेदवारले सङ्घलाई अझ सशक्त बनाउँदै स्थानीय सरकार, प्रदेश र केन्द्रसँग प्रभावकारी रूपमा आवाज उठाउने नेतृत्व आवश्यक रहेको बताएका छन् । तर, भाषण र घोषणाभन्दा व्यवहारिक कार्य योजनामा जोड दिनुपर्ने बताउँछन् दमकका औषधि व्यवसायी खगेन्द्र बजगाईँ ।
दमक उद्योग वाणिज्य सङ्घ विगतदेखि नै स्थानीय आर्थिक गतिविधिको मेरुदण्डका रूपमा रहँदै आएको छ । यहाँको नेतृत्वले लिने निर्णयले दमक मात्र होइन, पूर्वी नेपालकै व्यापारिक वातावरणमा असर पार्ने भएकाले यस निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ । यही कारण पनि व्यवसायीहरू यस पटक सचेत भएर मतदान गर्न चाहिरहेको देखिन्छ । निर्वाचन नजिकिँदै जाँदा दमकको बजार चुनावी रङ्गमा रंगिँदै गएको छ । उम्मेदवारका भेटघाट, छलफल र प्रतिबद्धताले माहोल अझ तातिँदो छ । अन्ततः व्यवसायीले कसलाई आफ्नो अभिभावकका रूपमा रोज्छन् ? दमकको व्यापारिक भविष्य कसको हातमा सुम्पिन्छन् ? यसको उत्तर भने निर्वाचन परिणामसँगै स्पष्ट हुने छ ।
तिन वटा प्यानल बिच कडा प्रतिस्पर्धाको सङ्केत
यस पटकको निर्वाचनमा तीन वटा छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । तीन प्यानलबीचको प्रतिस्पर्धाले दमकको व्यापार–व्यवसायसँग जोडिएका मुद्दा,एजेन्डा र भावी दिशाबारे फरक–फरक दृष्टिकोण सार्वजनिक भइरहेका छन् । प्रत्येक प्यानलले आफूहरूसँग स्पष्ट योजना, अनुभवी नेतृत्व र व्यवसायी हितमैत्री कार्यक्रम रहेको दाबी गर्दै चुनावी मैदानमा उत्रिएको छ ।
एमाले निकटका व्यवसायीहरूको प्यानलका अध्यक्ष पदका उम्मेदवार भरत चम्लगाई हल्ला र सल्लाह गर्ने नेतृत्व होइन सिधै एक्सनमा उत्रिएर काम गर्नका लागि आफ्नो नेतृत्वको प्यानललाई विजयी गराउन आग्रह गर्छन् ।
यस्तै राप्रपासहितको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार राजु खड्का आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । दमक उद्योग वाणिज्य सङ्घलाई थप सशक्त, पारदर्शी र व्यवसायीमैत्री बनाउने उनी प्रतिबद्धता व्यक्त गरिरहेका छन् । गत कार्यकालमा वरिष्ठ उपाध्यक्षको अनुभव बटुलेका उनी यस पटक अध्यक्षमा आफूलाई जिताउन आग्रह गरिरहेका छन् ।
उता, यस अघि एक कार्यकाल दमक उद्योग वाणिज्य सङ्घको नेतृत्व सम्हालिसकेका गोपाल गुरागाईँ भने विगतको अनुभव र निरन्तरताको पक्षमा जोड दिई रहेका छन् ।
विगतका अधुरा कामहरू सम्पन्न गर्न पनि पुन एक पटक आफू अध्यक्षमा दोहोरिन खोजेको उनी बत्ताउँछन् ।
तर, गुरागाईँले यस्तो बताई रहँदा धेरैले भने परिवर्तन र नयाँ सोच आवश्यक रहेको तर्क अघि सारेका छन् । दमक उद्योग वाणिज्य सङ्घका सदस्य व्यवसायीहरूका लागि यो निर्वाचन केवल नेतृत्व चयनको विषय मात्रै नभई सङ्घको भावी भूमिका र प्रभावकारितासँग पनि जोडिएको छ ।
कर प्रणाली, बजार व्यवस्थापन, लगानी वातावरण, स्थानीय उद्योग संरक्षण, सरकारी निकायसँगको सहकार्य लगायतका विषयलाई चुनावी एजेन्डाका रूपमा उम्मेदवारहरूले अघि सारेका छन् ।
तीन प्यानलबीचको प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाएको छ । यसले सङ्घभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने विश्वास धेरै व्यवसायीले व्यक्त गरेका छन् । यद्यपि, केही व्यवसायी भने अत्यधिक प्यानल प्रतिस्पर्धाले सङ्घभित्र विभाजन निम्त्याउन सक्ने चिन्ता पनि व्यक्त गर्छन् ।
तीन प्यानलमध्ये कसले दमक उद्योग वाणिज्य सङ्घको नेतृत्व हात पार्छ भन्ने प्रश्नको उत्तर पुस १८ गते मतदानको मतपेटिकाबाटै खुल्नेछ । जे भए पनि, यस पटकको निर्वाचनले दमकको व्यावसायिक क्षेत्रलाई नयाँ ऊर्जा र दिशातर्फ लैजाने अपेक्षा गरिएको छ ।




























































