धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले सोमबारदेखि खानेपानी बिल भुक्तानी अनलाइनबाट गर्न सकिने सुविधा सुरु गरेको छ ।
नयाँ धारा जडान गर्न निवेदन अनलाइनबाट गर्न सकिने छ । साथै खानेपानी बोर्डको हिसाब किताबको जानकारी लिन सकिने नयाँ मोबाइल एप्स र वेबसाइट सुरु गरेको छ ।
बोर्डका अध्यक्ष धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त डिजिटल प्रणालीको शुभारम्भ गरेका हुन । उनले भने ‘सेवाग्राहीका लागि सजिलो, छिटो र पारदर्शी सेवा प्रदान गर्न खानेपानी बोर्डलाई डिजिटलाइज गरिएको छ ।’
बेघालेले खानेपानी बिलिङ र आर्थिक कारोबार अनलाइन हेर्न र भुक्तानी गर्न सकिने, सेवाग्राहीले निवेदन र प्रशासनिक कामको लागि कार्यालय धाउन नपर्ने भएको बताए । सम्पूर्ण जानकारी, फाराम, नयाँ धारा जडान आवेदन र व्यक्तिगत अभिलेख मोबाइल एप्स र वेबसाइट मार्फत उपलब्ध गराइएको जानकारी दिए ।  
अध्यक्ष बेघालेले भने ‘बोर्डको लेखा प्रणालीलाई पूर्ण पारदर्शी बनाउन डिजिटलाइज गरिएको छ, आवश्यक ऐन, नियम तथा कानुन निर्माणको प्रक्रिया पनि सुरु गरिएको छ ।’
उनले चाडै खानेपानी बोर्डको अडिट गराई रिपोर्ट सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । बोर्ड अध्यक्ष बेघाले भने ‘अव बोर्डका सम्पूर्ण आम्दानी खर्च वेबसाइटमा सार्वजनिक गरिने छ ।’ 
बेघासँग सञ्चारकर्मीहरूले पूर्व प्रमुख हर्क साम्पाङको कोकाह भाग १ र भाग २, पकुवा, भालु खोला लगायतको आयव्यय अडिट समेत सार्वजनिक गर्न आग्रह गरेका छन् ।