धरान : धरान उपमहानगरपालिका कावा प्रमुख तथा धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष अईन्द्र विक्रम बेघाले धरानमा हाल उत्पादन र वितरण भैरहेको खानेपानीको कुल परिमाण २ करोड ६० लाख लिटर रहेको बताएका छन् । 
पानीको उक्त परिमाणमा २० लाख लिटर मात्र पूर्व अध्यक्ष हर्क साम्पाङले ल्याएको पानी रहेको उनले बताएका हुन । बोर्डद्वारा खानेपानीको बारेमा यथार्थ सार्वजनिक गर्न आज सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त तथ्य सार्वजनिक गरेका छन् ।
खानेपानी बोर्डले प्रत्येक महिना आफ्नो आर्थिक विवरण सार्वजनिक गर्ने निर्णय गरेको बताउँदै उनले धरानको हालको पानी उत्पादन अवस्थाबारे पनि जानकारी दिए । 
अध्यक्ष बेघाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भूमिगत स्रोततर्फ उदय सामुदायिक वनमा रहेको ३ वटा बेलबाट दैनिक १७ लाख लिटर र चार कोसे जङ्गलका ११ वटा बेलबाट दैनिक १ करोड ४० लाख लिटर पानी उत्पादन  हुँदै आएको छ । 
सतह स्रोततर्फ सर्दु–खर्दुबाट ६० लाख, निसानेबाट ३ लाख लिटर सङ्कलन हुने गरेको छ । पकुवा खोलाबाट २ लाख र कोकाह उपभोक्तासँगको सम्झौता अनुसार २ लाख,कोकाहबाट १० लाख, नयाँ ट्याङ्कीबाट ४ लाख, भालु खोलाबाट २ लाख पानी आएको छ । पुराने स्रोत तथा बेलबाट  हाल धरानमा दैनिक करिब २ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको खानेपानी बोर्डले जनाएको छ। 
प्रदेश सरकारको सहयोगमा निर्माण गरिएका तीन वटा बेलबाट अनुमानित ४० देखि ५० लाख लिटर पानी थप उत्पादन हुने अपेक्षा गरिएको छ। 
अध्यक्ष बेघाले धराने जनतालाई दैनिक करिब ३ करोड लिएर पानी आवश्यक रहेकोमा पुरानो स्रोत तथा बेलबाट २ करोड ४० लाख पानी उत्पादन भैरहेको त्यस बाहेक निवर्तमान नगरप्रमुख हर्क साम्पाङले ल्याएको भालु खोला कोकाह भाग १ र भाग २ बाट २० लाख गरी जम्मा २ करोड ६० लाख पानी उत्पादन भै रहेको बताए । 
अध्यक्ष बेघाले खानेपानीको कर्मचारीलाई चुनावी प्रचारमा संलग्न देखिए तत्काल कारबाही गरिने कडा चेतावनी दिएको बताए । उनले भने "कुनै पार्टी कार्यालयतर्फ मात्र पानी पठाइएको पाइएमा तत्काल छानबिन हुने र पानी चुहावटमा संलग्न कर्मचारी प्रमाणित भए कारबाही गरिने छ ।"
अब अनलाइन कारोबार
बोर्डबाट अब खानेपानी सम्बन्धी बिलिङ र सम्पूर्ण आर्थिक तथा प्रशासनिक कारोबार एक साताभित्र अनलाइन प्रणालीबाट सञ्चालन गरिने अध्यक्ष बेघाले घोषणा गरेका छन्।
 पत्रकार सम्मेलनमा उनले एक साताभित्र बोर्डको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइने जानकारी दिए। वेबसाइटमार्फत बोर्डको आय–व्यय विवरण, सूचना, सेवाग्राही फाराम,नयाँ धारा जडान र  बिल भुक्तानी तथा व्यक्तिगत अभिलेख हेर्ने व्यवस्था अनलाईन मार्फत गरिने उनले बताए।
हाल सेवाग्राहीले निवेदन तथा प्रशासनिक कामका लागि उपमहानगरपालिकासम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बोर्डमार्फत छिटोछरितो सेवा प्रदान गरिने बताए। बेघाले लेखा प्रणालीलाई पारदर्शी बनाउन बोर्डको आर्थिक कारोबार डिजिटललाईज  गरिने र आवश्यक ऐन, नियम तथा कानुन निर्माणको प्रक्रिया पनि सुरु गरिनेछ।