धरान : सुनसरी क्षेत्र १ मा फागुन २१गते हुने प्रतिनिधि सभा सदस्य चुनावको लागि राजनीतिक दलबाट १९ जना र ७ जना स्वतन्त्र गरी जम्मा २६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आज मङ्गलवार पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो । प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार मनोनयन दर्ता गर्ने पहिलो उम्मेदवार नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ भएका छन् । अन्तिम मनोनयन मितेरी पार्टी नेपालका रक्षा कुमार राईले दर्ता गराएको उनले बताए ।
उम्मेदवारहरू मध्ये सबैभन्दा कान्छा उम्मेदवार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २९ वर्षीय राजकुमार लिम्बु रहेका छन् । सबैभन्दा जेठा उम्मेदवार राष्ट्रिय साझा पार्टीकी ६८ वर्षीय भूपी राई रहेका छन् ।
सुनसरी क्षेत्र १ मा कुल मतदाता सङ्ख्या १ लाख ५० हजार ३९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ । सुनसरी १ मा कुल ४९ मतदान स्थल र १८१ मतदान केन्द्र कायम रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अधिकृत घिमिरेले हाल उम्मेदवारहरूलाई प्रचार–प्रसार गर्न नपाइने स्पष्ट गरेका छन् ।
उम्मेदवारहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने उनले बताए । भने, “उम्मेदवारले व्यक्तिगत रूपमा घरदैलो गर्दै भोट माग्न पाउँछन्, तर हुल हुज्जत गर्दै बाजा बजाउँदै प्रचार गर्न पाइँदैन। यस विषयमा अनुगमन र नियमन गरिन्छ।”
निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि शान्तिपूर्ण, निष्पक्ष र कानुन सम्मत रूपमा सम्पन्न गरिने जनाएको छ।
सुनसरी–१ निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटै वडा, वराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ तथा राम धुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश रहेका छन्।
निर्वाचन कार्यक्रमअनुसार माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, कर्मचारी नियुक्ति तथा निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो। माघ ३ गते सर्वदलीय बैठक बस्ने निर्णय गरिँदै सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।
माघ ४ गते बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने, आचारसंहिता पूर्ण रूपमा पालना गर्ने तथा मनोनयन दर्ता प्रक्रिया व्यवस्थित गर्ने सहमति गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।